NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ९ गते

ताप्लेजुङ केन्द्रबिन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प, भारतसम्म महसुस

काठमाडौं: ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रलाई केन्द्रबिन्दु बनाएर मंगलबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार नेपाली समयअनुसार बिहान ७ बजेर १७ मिनेटमा उक्त भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु जमिनको १० किलोमिटर गहिराइमा रहेको छ।

भूकम्पको धक्का ताप्लेजुङसहित नेपालका पूर्वी र मध्य तराईका जिल्ला तथा काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले हालसम्म भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त नभएको जानकारी दिएका छन्। उनले भने, ‘भूकम्पले यता त निकै मज्जाले हल्लायो। केन्द्रबिन्दु नजिकै रहेछ। तर अहिलेसम्म हामीलाई भूकम्पले गरेको क्षतिको विवरण प्राप्त भएको छैन। हामी स्थानीय तहमा बुझिरहेका छौँ।’

यस भूकम्पको प्रभाव नेपालमा मात्र नभई भारतका सिक्किम, बिहार र पश्चिम बंगालका विभिन्न स्थानमा पनि महसुस गरिएको छ। भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार स्थानीय समयअनुसार बिहान ७:०२ बजे सिक्किमको युक्सोमबाट ६१ किलोमिटर उत्तरपश्चिममा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। ताप्लेजुङको सीमा भारतको सिक्किमसँग जोडिएका कारण उक्त क्षेत्रमा धक्का बढी महसुस गरिएको हो।

ताजा अपडेट

नेपालवाच विशेष