५० वर्षदेखि निरन्तर वडाध्यक्ष, जनताले बनाउँदैछन् शालिक

काठमाडौं । राजनीतिक नेतृत्वप्रति आम नागरिकको बुझाइ सकारात्मक छैन । अधिकाशं निर्वाचित जनप्रतिनिधिप्रति नागरिकका गुनासा नै गुनासा छन् । तर ललितपुर महानगरपालिका–१० का वडाध्यक्ष नर्सिङ व्यञ्जनकार यसका अपवाद हुन् । जसको सम्मानमा वडाबासीले पार्कसहित पूर्ण कदको शालिक नै बनाउँदै छन् ।
स्वतन्त्र राजनीतिक पृष्ठभूमिका व्यञ्जनकार पाँच दशकदेखि निरन्तर वडाध्यक्ष छन् । ८३ वर्षको वयोवृद्ध उमेरमा समेत उनी जनताको सेवामा सक्रिय छन् ।
राजनीतिक नेतृत्वको सम्मानमा नागरिकले आफ्नै खर्चमा पार्कसहितको शालिक बनाउन लागेको सम्भवतः यो पहिलो घटना हो ।
‘८३ वर्षका वडाअध्यक्ष व्यञ्जनकार अहिले पनि आफ्नो वडाभित्र डुल्दै नागरिकका समस्या सुन्छन् र सेवा प्रवाहमा उत्तिकै तत्पर छन्,’ वडाध्यक्षको शालिक निर्माण अभियानको नेतृत्व गरिरहेका वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले नेपालवाचसँग भने, ‘५० वर्षदेखि लगातार वडाध्यक्षमा निर्वाचित भएर नागरिकको सेवा गर्नु भएकाले उहाँको सम्मानमा शालिक बनाउन लागेका हौं ।’
राम्रो काम गरे शालिक बनाइदिँदा रहेछन् भन्ने सन्देश पनि यो कार्यबाट प्रवाह हुने त्रिपाठीले बताए ।
वडाध्यक्षको शालिक निर्माणका लागि आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेको छ । उनका अनुसार, व्यञ्जनकारले जोगाएको युएन पार्कमा बगैंचासहित पार्क बनाउने सोच छ । यही प्रस्ताव बोकेर वडाबासीले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई भेटिसकेका छन् । सबै पक्षबाट सकारात्मक जवाफ पाए पनि स्थानबारे टुंगो भने लागिसकेको छैन ।
स्थान पाएलगत्तै वडाध्यक्ष व्यञ्जनकारको शालिक अनावरण गर्ने त्रिपाठीले जानकारी दिए ।
शालिक निर्माणका लागि कालिगढलाई १२ लाख रूपैयाँमा अर्डर दिइसकिएको छ । शालिक वरिपरि बगैंचासमेत निर्माण गरिने भएकाले ६५ लाख रूपैयाँ खर्च अनुमान छ ।
आवश्यक बजेट वडावासीहरूबाट जुटाउने र अपुग भएमा सरकारी निकायसँग माग गर्ने अभियानकर्मीको तयारी छ । चन्दा संकलनका लागि वडाबासीलाई पत्राचार गर्न लागिएको त्रिपाठीले जानकारी दिए ।
व्यञ्जनकार ८३ वर्ष पुगे । यो उमेरका मानिसहरु प्रायः घरभित्रै सीमित हुन्छन् । तर उनी भने यो उमेरमा पनि वडाबासीको सेवामा व्यस्त छन् ।
५० वर्षदेखि निरन्तर वडाअध्यक्ष
५० वर्ष सक्रिय राजनीति गर्नेका लागि शीर्ष स्थानमा पुग्न पर्याप्त समय हो । तर व्यञ्जनकार भने ५० वर्षदेखि निरन्तर वडाध्यक्ष छन् ।
व्यञ्जनकार ०२९ सालमा पहिलो पटक वडाध्यक्ष निर्वाचित भए । उनी ०७४ को स्थानीय तह चुनावमा पनि स्वतन्त्र उम्मेदवारी दिएर मैदानमा उत्रिए । सट्टामा जनताले अपार माया बर्साएर जिताइदिए ।
त्रिपाठी यति लामो समयसम्म वडाध्यक्ष भएर काम गर्ने व्यञ्जनकार सम्भवतः पहिलो व्यक्ति भएको बताउँछन् ।
वडा नै घरघरमा
व्यञ्जनकार वडाबासीको प्रिय हुनुको कारण उनको जिम्मेवारीबोध नै हो । हुन पनि उनी आफ्ना वडाका नागरिकले दुःख नपाउन भनेर घरघर पुगिरहेका हुन्छन् । बुढ्यौलीवयले समातिसक्दा अद्यपि यो क्रम जारी छ ।
‘अन्य वडामा त मानिसहरू सेवा लिनको लागि वडा कार्यालय धाउनु पर्छ । तर हाम्रो वडामा भने अध्यक्ष आफैं सेवा लिएर घरघरमा आउछन्,’ वडा नं. १० का नागरिक विकेश महर्जनले भने, ‘उनको यही सेवा भावप्रति कृतज्ञता जायर गर्न हामीले शालिक बनाउन लागेका हौं ।’
प्राथमिकता सामाजिक स्वार्थलाई
५० वर्ष सक्रिय राजनीति गरेका व्यञ्जनकारले व्यापार व्यवसाय गरेका हुन्थे पनि कुस्त कमाइ गर्न सक्थे । तर उनले देश, समाज र वडाबासीको स्वार्थबाहेक केही हेरेनन् ।
उपत्यकाका कैयन् सार्वजनिक स्थान अतिक्रमणको चपेटामा परेका छन् । व्यञ्जनकार अध्यक्ष रहेको वडा नम्बर १० को शंखमूलदेखि टेकुसम्म उत्तिकै सार्वजनिक जमिन छन् । यो वडाको सिमानामा छ, वाग्मती नदी । यो नदीको किनार काठमाडौं र ललितपुर दुवैतिर कुनै बेला बराबर थियो । तर काठमाडौंतिर अहिले सबै अतिक्रमित भइसकेका छन् । काठमाडौंतर्फका सबै जमिन अतिक्रमण भइसक्दा उनको वडा क्षेत्रभित्रका सबै दुरुस्त छन् ।
ललितपुर १० का सार्वजनिक सम्पत्तिमा कसैको नजर नै नपरेर जोगिएको हो त ?
यो क्षेत्रका सार्वजनिक सम्पत्ति हडप्न निकै प्रयास भएका थिए । तर उनै व्यञ्जनकारका कारण कसैको जोड नचलेको त्रिपाठी बताउँछन् ।
‘म र मेरा केही साथीलाई नबोलिदिएबापत ३ रोपनी जग्गा दिने प्रस्ताव राखिएको थियो,’ त्रिपाठीले भने, ‘हामी नबोले पनि वडाध्यक्षले स्वीकार गरिदिएको भए त कुरा सकिन्थ्यो । तर उहाँले स्वीकार गर्नुभएन ।’
वडाध्यक्षका कारण रोकिएको जमिन त्यही हो, जहाँ अहिले युएन पार्क बनेको छ ।
प्रतिक्रिया