NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

चितवनमा एमालेविरुद्ध प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मको शक्ति प्रदर्शन, कसले के भने ?

काठमाडौं । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा सबैको ध्यान यतिबेला चितवनको भरतपुर महानगरपालिकामा परेको छ ।

भरतपुर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकोसमेत नगर भएको र उनकै पुत्री रेनु दाहाल गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार रहेकाले सबैको ध्यान चितवनमा गएको हो ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमोको साझा उम्मेदवार बनेकी रेनुविरुद्ध कांग्रेसकै जिल्ला नेता जगन्नाथ पौडेलले उम्मेदवारी दिएकाले भरतपुरको राजनीति झनै तातिएको छ । आफ्नो उम्मेदवारी कुनै हालतमा फिर्ता नलिने अडान लिएका पौडेलले अहिलेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् । उनको उम्मेदवारी फिर्ता नभएकाले गठबन्धनका नेताहरूलाई टाउको दुःखाइको विषय बनेको छ ।

एमालेविरुद्ध गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएको पाँच दलले संघीय निर्वाचनको झल्को देखिनेगरी सत्ता गठबन्धनले बिहीबार भरतपुरमा शक्ति प्रदर्शन गरेको छ । राज्य कोषको दुरुपयोग गर्दै प्रधानमन्त्री, मन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मले प्रचण्डपुत्री रेनुका लागि भोट मागेको दृष्य आफैमा रोचक देखिन्थ्यो ।

गत निर्वाचनमा रेनुले हार्ने स्थिति देखिएपछि माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए । सर्वोच्च अदालतले पुनः निर्वाचन गर्न आदेश दिएपछि दोस्रोपटक भएको मतदानमा रेनुले २०३ को झिनो मतान्तरणले एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराएकी थिइन् ।

स्थानीय निर्वाचनमा मेयरका उम्मेदवारका लागि भोट माग्न प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड, माधवकुमार नेपाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, पूर्वसभामुख तथा कांग्रेस नेता रामचन्द्र पौडेल लगायतले एउटै मञ्चबाट रेनुलाई भोट मागेका थिए ।

विपक्षी एमालेविरुद्ध पाँचदलीय गठबन्धन लाग्दासमेत चुनावी परिणामप्रति विश्वस्त हुन नसकेको नेताहरूको बोलीबाट प्रष्ट देखिन्थ्यो ।

तत्कालीन नेकपाभित्र प्रचण्ड–माधवले केपी शर्मा ओलीविरुद्ध विद्रोह गरी देउवालाई प्रधानमन्त्री बनाएका थिए । नेकपा विभाजनसम्म आइपुग्दा एमाले कमजोर हुने त्यसको फाइदा आगामी निर्वाचनमा कांग्रेसलाई हुने प्रधानमन्त्री देउवाले आँकलन गरेका थिए ।

गठबन्धनका नेता प्रचण्ड–माधवले पनि कांग्रेससँग मिलेर ओलीलाई साइजमा ल्याउने र आगामी दिनमा आफ्नो प्रभुत्वलाई बढाउने रणनीति बनाएका थिए । तर गठबन्धनले चाहेको जस्तो एमाले कमजोर नभइ झनै शक्तिशाली देखिएपछि गठबन्धनका नेताहरू चुनावी परिणामप्रति विश्वस्त हुन सकेका छैनन् ।

आगामी निर्वाचनमा शक्ति मापनको आधार विन्दूको रुपमा हेरिएको यस निर्वाचनलाई दुवै पक्षले प्रतिष्ठाको लडाइँ बनाएका छन् । विपक्षी एमालेले पार्टी विभाजनबाट आफूलाई कुनै प्रभाव नपरेको देखाउन यस निर्वाचनलाई बलियो हतियार बनाएको छ । गठबन्धनलाई दिगो र थप मजबुद बनाउन जसरी पनि चुनाव जित्नुपर्ने बाध्यता सत्तापक्षको छ ।

गत स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीबीच सहकार्य हुँदा पनि आफूले चाहेकोजस्तो चुनावी परिणाम नआएपछि संघीय र प्रादेशिक निर्वाचनमा प्रचण्ड एमालेसँग मिल्न गएका थिए । प्रचण्ड–माधवकै सहयोगमा आफू प्रधानमन्त्री बनेकाले गठबन्धनकै सहयोगमा आगामी दिनमा बहुमत ल्याइ पुनः प्रधानमन्त्री बन्ने दाउमा देउवा रहेका छन् । चितवनमा रेनुले निर्वाचन हारेमा ०७४ कै पुनरावृत्ति हुने चिन्तामा प्रधानमन्त्री देउवा छन् । भरतपुरमा रेनुलाई जिताएर भए पनि गठबन्धन जोगाउन देउवा सक्रिय छन् ।

त्यसैकारण रेनुविरुद्ध आफ्ना कार्यकर्ताले दिएको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्रीदेखि पार्टीका शीर्ष नेतासमेतलाई देउवाले भरतपुर पठाएका थिए । तर सबैको आग्रह अस्वीकार गरेपछि प्रधानमन्त्री देउवा आफै भरतपुर पुगेका छन् ।

गत निर्वाचनमा रेनुले हार्ने स्थिति देखिएपछि माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए । सर्वोच्च अदालतले पुनः निर्वाचन गर्न आदेश दिएपछि दोस्रोपटक भएको मतदानमा रेनुले २०३ को झिनो मतान्तरणले एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराएकी थिइन् ।

ज्ञवालीले यसपटक भरतपुरको मैदान वाग्मती प्रदेशका निर्वतमान सदस्य एवं एमाले जिल्ला नेता विजय सुवेदीलाई छोडिदिएका छन् । गठबन्धनका उम्मेदवारलाई परास्त गर्न एमालेले राप्रपासँग सहकार्य गरेको छ ।

गत निर्वाचनकै पुनरावृत्ति नदोहोरियोस् भन्नका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरूको लाबालस्कर नै चितवन पुगेको थियो ।
आमसभामा एउटै मञ्चबाट कांग्रेसका जिल्ला नेतादेखि विभिन्न पार्टीका शीर्ष नेताहरूले रेनुको कामको प्रशंसा गर्दै उनको पक्षमा भोट मागेका थिए ।

कसले के भने ?

‘रेनुले भरतपुरमा धेरै राम्रो काम गर्नुभएको छ । क्रिकेट खेलकुद मैदान, सडकको स्तरउन्नति, विमानस्थल बनाउनदेखि स्मार्ट सिटी बनाउनसम्म उहाँको महत्वपूर्ण योगदान छ । यस्तो राम्रो काम गर्ने मेयरलाई हराएर भरतपुरले के पाउँछन् ? त्यसैले उहाँलाई अत्याधिक मत दिएर जिताउनुहोस्’ : प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा

‘हामीले यो गठबन्धन सोच विचार गरी बनाएको हो । म लकिरको फकिर होइन । तपाईंहरूले साथ दिनुभयो भने सहकार्य धेरै पर जान्छ । यदि त्यसो भएन भने देश दुर्घटनामा जान्छ’ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

‘भरतपुरमा रेनु दाहालले राम्रो काम गरेकाले गठबन्धनले उनलाई उम्मेदवार छनोट गरेको हो । मेयरमा रेनु र उपमेयरमा चित्रसेन अधिकारीको ‘कम्मिनेसन’ राम्रो भएकाले सबैले सहयोग गर्न आग्रह म आग्रम गर्छु’ : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

‘केपी ओलीले जनमतको अबमूल्यन गर्दै संविधान, लोकतन्त्र समाप्त पार्ने खेलमा लागे । ओली प्रवृत्तिविरुद्धको गठबन्धन भएकोले मिलेरै जानुको विकल्प छैन । भरतपुरमा रेनुजीले भौतिक पूर्वाधार र स्मार्ट सिटी बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ । उहाँको कामप्रति कसैले शंका नगरौं’ : कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल

‘जंगलमा बाघ नगर्जिए स्यालहरू गर्जिने गर्छन् । भरतपुरमा रेनु लगायतका बाघ गर्जिए स्यालहरूको भागाभाग हुनेछ’ : सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ

गठबन्धन फुटाउन ठूलो षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री देउवा

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष