सुर्खेतका दुई नगरपालिका कांग्रेसको पोल्टामा
सुर्खेत । जिल्लाको गुर्भाकोट नगरपालिकाको प्रमुख–उपप्रमुख पदमा पुनः कांग्रेस उम्मदेवार दोहोरिएका छन् । कांग्रेसका प्रमुख पदका उम्मेदवार हस्त पुनले नेकपा (एमाले) का तिलक खत्रीलाई एक हजार ७९२ मत पराजित गर्दै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पुनले ११ हजार ९७८ र उनका निकटतम् प्रतिद्वन्द्वी खत्रीले १० हजार १८६ मत प्राप्त गरे । उपप्रमुखमा मैना विकले ११ हजार ७४३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुशीला विश्वकर्माले १० हजार २९९ मत प्राप्त गरिन् । ०७४ को स्थानीय तह निर्वाचनमा पुन र विक प्रमुख–उपप्रमुख पदमा निर्वाचित भएका थिए ।
लेकबेँसी नगरपालिकाको प्रमुखमा कांग्रेसका उमेशकुमार पौडेल र उपप्रमुख पदमा एमालेका विमला खड्लुक विजयी भएका छन् । एमालेका देवबहादुर रानालाई २६५ मतान्तरले पराजित गर्दै पौडेलले छ हजार ६३९ मत ल्याएर विजयी भएकी हुन् ।
रानाले छ हजार ३७४ मत प्राप्त गरिन् । उपप्रमुखमा विजयी एमाले उम्मेदवार खड्लुकले छ हजार १०९ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) देउकली थापामगरले पाँच हजार ४४० मत प्राप्त गरे । यहाँ प्रमुख–उपप्रमुख पदमा कांगे्रस र एकीकृत समाजवादीबीच तालमेल भएको थियो । विसं २०७४ को निर्वाचनमा लेकबेँसी नगरपालिकाको प्रमुख–उपप्रमुख दुवै पदमा एमालेले जित हासिल गरेको थियो ।
सुर्खेतका नौमध्ये चार स्थानीय तहको मत परिणाम घोषणा हुन बाँकी छ । सिम्ता गाउँपालिका, भेरीगङ्गा नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र चौकुने गाउँपालिकामा मतगणना जारी छ । पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा कांगे्रस तथा चिङ्गाड गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएको घोषणा भइसकेको छ । त्यहाँको निर्वाचन मतपरिणाम मङगलबार सार्वजनिक भएको थियो ।


प्रतिक्रिया