NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

भत्किए कांग्रेस–एमालेका ‘किल्ला’

काठमाडौं । ठूला महानगरसहित केही तहबाहेक सबैजसो स्थानीय तहको अन्तिम नतिजा आएको छ । यस निर्वाचनबाट काठमाडौंमा बालेन साह, धनगढीमा गोपी हमाल, धरानमा हर्क साम्पाङजस्ता स्वतन्त्र उम्मेदवार मात्रै उदाएनन्, प्रमुख दलका गढ पनि ढलेका छन् ।

०७४ को निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको एमाले फराकिलो अन्तरसहित दोस्रोमा खुम्चिएको छ, सँगै ०४९–०५४ देखि एकछत्र जित्दै आएका ‘गढ’समेत गुमाएको छ ।

यद्यपि, पाँचदलीय सत्ता गठबन्धनसँग लगभग एक्लै भिडेको एमालेले कांग्रेसका केही ‘किल्ला’ भत्काएको छ । सबै महानगरपालिका र उपमहानगरपालिका तथा केही नगरपालिका र गाउँपालिकामा सत्तारूढ पाँच दलले गठबन्धन बनाएर एमालेविरुद्ध उम्मेदवारी दिएका थिए ।

०५४ को स्थानीय निर्वाचनदेखिको गढ बुटवल पनि एमालेले यसपटक जोगाउन सकेन । तर महाकालीपारिको दोधारा–चाँदनीमा ३० वर्षपछि एमालेले झण्डा गाडेको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका र चिङगाड गाउँपालिका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्रमा पर्छन् । ०५४ यता एकछत्र जित निकालेको कांग्रेस यी पालिकामा यसपालि गठबन्धन गर्दा पनि एमालेसँग पराजित भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।