NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २५ गते

बेकह्यामले बिर्सिए उत्कृष्ट गोल

काठमाडौं । इंग्लिस फुटबलका आइकोनिक खेलाडी डेभिड बेकह्यामले करिअरमा धेरै उत्कृष्ट गोल गरे । राष्ट्रिय टोलीदेखि क्लब लेभलसम्मको प्रतिस्पर्धामा बेकह्यामले निकै नै लोभलाग्दो गोल गरेको सम्झना धेरैलाई छ । तर, स्वयं बेकह्यामले भने आफ्नो जीवनकै उत्कृष्ट गोल भने बिर्सिएका छन् । बेकह्यामले मैदानको मध्यभागबाट विम्बल्डनविरुद्ध लामो दूरीमा गोल गरेका थिए ।

फुटबल विश्लेषकहरूले विम्बल्डनविरुद्धको प्रतिस्पर्धामा बेकह्यामले गरेको यही गोललाई नै उत्कृष्ट मानेका छन् । तर, बेकह्यामले यो अविस्मरणीय गोल बिर्सेको बताएका छन् । म्यानचेस्टर युनाइटेडबाट सँगै खेलेका गेरी नेभिलको एक कार्यक्रममा बेकह्यामले आफ्नो उत्कृष्ट गोल लगभग बिर्सिएको जनाए ।

‘वास्तवमै मैले कहिले उत्कृष्ट गोल गरेको थिएँ,’ टेलिभिजन कार्यक्रममा बेकह्यामले आफ्ना समकक्षी नेभिललाई प्रतिप्रश्न गरे, ‘राष्ट्रिय टोली वा क्लबबाट खेल्दा समयको उत्कृष्ट गोल थियो ।’ बेकह्यामले यस्तो प्रश्न गरिरहँदा कार्यक्रमका प्रस्तोता नेभिल केवल हाँस्दै बसे । उनले बेकह्यामलाई बारम्बार सम्झाउन खोजे । तर बेकह्यामलाई पटक्कै उत्कृष्ट गोल गरेको क्षण याद नै भएन ।

अन्तिममा नेभिलले बेकह्यामलाई विम्बल्डनविरुद्ध मैदानको मध्यभागबाट प्रहार गरेको गोल करिअरकै उत्कृष्ट गोल भएको बताए । ‘विम्बल्डनविरुद्धको गोल नै तिम्रो करिअरकै उत्कृष्ट गोल थियो,’ नेभिलले भने, ‘साथी यस्तो सुन्दर गोल कसरी बिर्सिएको ? ।’ बेकह्यामले ठट्टा गर्दै भने, ‘होइन नि । मैले करिअरमा धेरै गोल गरेँ, त्यसमध्ये कुन गोल उत्कृष्ट भन्ने छुट्याउन नै गाह्रो छ ।’

म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडजस्तो विश्वप्रसिद्ध क्लबबाट प्रतिस्पर्धा गरेका बेकह्यामले फ्रान्सका जिनेदिन जिदान उत्कृष्ट फुटबलरका रूपमा रहेको बताए र भने, ‘मेरो विचारमा अहिलेसम्म जिदान नै उत्कृष्ट फुटबलर लाग्छ ।’ –नयाँ पत्रिकाबाट