खारा–खाम्ला सडकको मार्ग खुल्यो

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–७, खाराबाट धवलागिरि गाउँपालिका–४, खाम्ला जोड्ने सडकको मार्ग खुलेको छ ।
धवलागिरि गाउँपालिका, म्याग्दीखोलामा निर्माण हुन लागेका जलविद्युत् आयोजना, प्रदेश र सङ्घीय सरकारले पछिल्लो पाँच वर्षयता १० किलोमिटर दूरीको यो सडकको विभिन्न ठाउँमा मार्ग खोलेका छन् ।
म्याग्दी नदीमा ३७ मेगावाट क्षमताको अपर म्याग्दी, ५३ मेगावाट क्षमताको अपर म्याग्दी–१ र ५७ मेगावाट क्षमताको म्याग्दी हाइड्रोपावर जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । जलविद्युत् आयोजना निर्माणस्थलमा ढुवानी र आवतजावतका लागि निर्माण भएको सडकबाट स्थानीयवासीलाई पनि सुविधा पुगेको छ ।
धवलागिरि गाउँपालिका–खिवाङका किसान पुनले खारा–खाम्ला सडक निर्माण भएपछि भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने खाम्ला, खिवाङ, चेचुङ, नाउरा, बगरका बासिन्दाका साथै धवलागिरि हिमाल आरोहण गर्न आउने पर्वतारोहीलाई पनि सुविधा पुगेको बताए ।
यसअघि खिवाङबाट खारा हुँदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ पुग्न तीनदेखि चार घण्टा लाग्ने गरेकामा यात्रा अवधि एक घण्टामा छोटिएको छ । शिवरात्रि, बाँसबोट, खारालगायतका स्थानमा अक्करे भिरको चट्टान फुटाएर सडक बनाइएको छ । आवतजावत, ढुवानी, जडीबुटी र स्थानीय कृषि तथा पशुजन्य उत्पादन निकासीमा सहज भएको स्थानीयवासीले बताएका छन् ।
वर्षौँअघि निर्माणको अनुमति लिएर बसेका जलविद्युत् आयोजनालाई गति दिन पहल र सहजीकरण गरिएको धवलागिरि गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुनको भनाइ छ ।
उनका अनुसार खाम्लामा पुगेको सडकलाई खिबाङ पुर्याउन पालिका र प्रदेश सरकारको रु एक करोड ३३ लाख बजेटमा मार्ग खोल्ने काम भइरहेको छ ।
गाउँपालिकाको केन्द्र मुनाबाट मुदी पुगेको सडकलाई विस्तार खिवाङ र मुदीको सिमानामा लगिएको छ । अपर म्याग्दी–१ को बाँध निर्माणस्थल नजिक पुगेको सडकलाई अपर म्याग्दी र म्याग्दीखोला जलविद्युत् आयोजनाले विस्तार गरेर नाउरा–बगर हुँदै धवलागिरि आधार शिविर नजिकको दोभानमा पुर्याउन लागेका छन् ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया