मुखियापट्टी मुसहरनिया गाउँपालिकाले कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान दिने
काठमाडाैं । मधेश प्रदेशको धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ ।
बीमा समितिले बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने क्रममा बिहीबार (हिजो) मुखियापट्टी मुसहरनिया गाउँपालिका, तुल्सीयाहीजब्दीमा आयोजना गरेको बीमासम्बन्धी जनचेतनामूलक कार्यक्रममा मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जय कुमार यादवले सो जानकारी दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका अध्यक्ष यादवले गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान दिने कार्यक्रम समावेश गरिएको र यसलाई आगामी बजेटमा राखेर कार्यान्वयनमा लैजाने जानकारी दिए ।
उनले किसानहरूले अझै पनि कृषि तथा पशुपन्छी बीमा गर्न नपाएको र बीमा गरेका किसानले पनि दाबी पाउन नसकेको उल्लेख गर्दै गाउँपालिकामा बीमा कम्पनीका शाखा कार्यालयहरु विस्तार गर्न तथा बीमा दाबी भुक्तानीलाई सरल एवम् छिटोछरितो तुल्याउनका लागि आवश्यक व्यवस्था गर्न बीमा समितिसँग आग्रह गरे ।
कार्यक्रमको ससमितिका निर्देशक दिनेश कुमार लालले बीमाको परिचय, महत्व, बीमा गर्ने तथा दाबी भुक्तानी पाउने तरिका, बीमाको पहुँच विस्तारमा स्थानीय तहको भूमिका लगायतका विषयमा जानकारी दिएका थिए ।
निर्देशक लालले किसानहरुले गाउँपालिकामा नै सहज किसिमले कृषि तथा पशुपन्छी बीमा गर्न पाउने र बीमा दाबी भुक्तानी पनि विनाढिलाई समयमै पाउने व्यवस्था गर्न बीमा समिति प्रतिवद्ध रहेको उल्लेख गर्नुहुँदै दावी भुक्तानी समयमै नपाए वा बीमासम्बन्धी कुनै समस्या परे समितिलाई जानकारी गराउन आग्रह गरे ।
ताजा अपडेट
-
आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
मौसम : चार प्रदेशमा आज वर्षा, काठमाडौंको तापक्रम ३२ डिग्री पुग्ने
-
पोखराको लेकसाइडका ६ मसाजमा प्रहरीको छापा
-
सन्दीपको सफाइदेखि निलम्बन फुकुवासम्म, फैसलाको पक्ष/विपक्षमा क्रिया–प्रतिक्रिया
प्रतिक्रिया