यी हुन् सडकबाटै वडा कार्यालयको काम गर्ने वडाध्यक्ष

काठमाडौं । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका एक वडाध्यक्षले सडकबाटै कार्यालयको काम थालेका छन् ।
डेस्क, कुर्सीसहितका कार्यालय संचालनको आवश्यक सामग्रीसहित भक्तपुरको चाँगुनारायण नगरपालिका ६ का वडाध्यक्ष धनबहादुर लामाले सडकबाटै कार्यालयको काम गरेका हुन् ।
सोमबार अघि वडा कार्यालयबाट दिने सिफारिससहिका काम लामाले सडकमा डेस्क राखेर गर्नुपर्नाको कारण यही सडकको दुरावस्था नै हो ।
निर्माण थालेर लामो समयदेखि अलपत्र पारिएको भक्तपुर–नगरकोट खण्डको निर्माणको लागि दबाब दिन लामासहितका वडा सदस्यहरूले सोमबार सडकमै कार्यालय चलाएर दबाब दिएक हुन् ।
समयमा बाटो नबनेपछि स्थानीयबासी, पर्यटन व्यवसायी, पर्यटक धेरैले दुःख भोग्नुपरेको भन्दै भन्दै ठेकेदार र राज्यलाई दबाब बढाउने उद्देश्यले सडकबाटै काम गर्नुपरेको लामाले बताएका छन् ।
८ वर्षमा सातपल्ट समय थपिंदा पनि यो सडकको काम सकिएको छैन । अरु सबै काम सकिएर पिच गर्न बाँकी रहेको सडक पनि अलपत्र अवस्थामा छ ।
शारदाप्रसाद अधिकारी अध्यक्ष रहेको शैलुङ कन्ट्रक्सनले ठेक्का पाएको यो सडकखण्ड कहिले भूकम्प, कहिले लकडाउन, कहिले निर्माण सामग्रीको अभाव, कहिले कामदारको अभाव, कहिले मौसमको चुनौती जस्ता पक्षलाई देखाउँदै ढिलाई हुँदै आएको छ ।
२०७१ जेठ २२ मा यो सडक बनाउनेगरी ठेक्का सम्झौता भएको थियो । तर साढे ३१ करोडको यो सडकको लागत समयमा नहुँदा ३६ करोड हाराहारी पुग्ने अनुमान गरिएको छ ।
यस अघि समयमा सडक नबनेको कारण देखाउँदै स्थानीय ठेक्का पाएका अधिकारीको फोटो सार्वजनिक स्थलमा टाँसेर विरोध जनाएका थिए । प्रधानमन्त्री तहसम्म दबाब बढाए पनि यो सडकखण्ड वर्षौदेखि अलपत्र पर्दै आएको हो ।
लामाले राप्रपाबाट वडाध्यक्ष जितेका थिए । उनी सुशासन विभाग प्रमुखसमेत हुन् । साथै राप्रपा चाँगुनारायण नगरपालिकाका संयोजकसमेत हुन् ।
प्रतिक्रिया