नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम घट्यो

काठमाडाैं । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक १.९३ अंक बढेर २०११.३९ विन्दुमा पुगेको छ।
त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंक घटेको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०.६३ प्रतिशत, लगानीको ०.९१ प्रतिशत, जीवन बीमाको ०.१६ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.८६ प्रतिशत र व्यापार उपसमूहको ०.४२ प्रतिशत बढेको छ। कारोबारमा आएका होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।
नेप्से उकालो लागेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ। गत शुक्रबार १ अर्ब ४५ करोडको शेयर खरिदबिक्री भएकोमा यस दिन २१० स्टकको २५ हजार ९२४ पटकको कारोबारमा १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको ३० लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन अपर तामाकोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ६ करोड ४ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आइतबार हिमालयन डिष्टिलरी, अरुण काबेली पावर र एनआईसी एशियाको साढे ४ करोड बराबरको शेयर कारोबार भएको छ।
आइतबार राधी विद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ५.४८ प्रतिशत बढेको छ। त्यसैगरी, प्रभु बैंक, नयाँ सारथी लघुवित्त र कुमारी बैंकको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। यता प्रभु सेलेक्ट फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ९।७८ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन सामुदायिक लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशत घटेको छ।
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया