‘२ नम्बरी’मा अभिनय गर्ने तयारीमा थिए जयनन्द

काठमाडौं । आज निधन भएका लोक गायक तथा अभिनेता जयनन्द लामा नयाँ चलचित्र ‘२ नम्बरी’मा अभिनय गर्ने तयारीमा रहेका थिए । उक्त चलचित्र चैतबाट छायांकन हुने तयारीमा छ ।
यसको जानकारी निर्देशक दीपेन्द्र लामाले दिएका हुन् ।
‘उहाँ चैतमा छायांकन सुरु गर्न लागिएको मेरो फिल्म ’२ नम्बरी’मा अभिनय गर्ने तयारीमा हुनुहुन्थ्यो । अरु ३–४ वटा फिल्मको कामले गर्दा व्यस्त उहाँ भन्दै हुनुहुन्थ्यो– तपाईंको फिल्मबाट मलाई छिट्टै फ्रि गरिदिनुस् है । बरु, मलाई क्लाइमेक्स सिनमा नराख्नुस्’, लामाले फेसबुकमा लेखेका छन्, ’आई एम सिक्स्टी सिक्स ! हिजो उहाँले भन्नुभएको अझै कानमा गुन्जिरहेको छ । उहाँको प्रस्थान अकल्पनीय लागिरहेको छ ।’
कलाकार जयनन्दको आज बिहान निधन भएको हो । उनी घरको गेटमा मृत अवस्थामा भेटिएको बताइएको छ ।
लामा सिन्धुपाल्चोक बाह्रबीसेका हुन् । उनले दर्जनौं लोकगीतमा स्वर दिनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभियान गरेका थिए । पछिल्लो समय उनी ‘हल्का रमाइलो’ नामक टेलिश्रृंखलामा देखिँदै आएका थिए ।
प्रतिक्रिया