एकै वडाबाट वार्षिक चार करोडको दूध बिक्री
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको एउटै वडाबाट वार्षिक चार करोड रूपैयाँ मूल्य बराबरको दूध निकासी हुन थालेको छ । बेनी नगरपालिका-४ को सिंगा, बास्कुना, सुर्केमेला, राक्से, ठूलोखोला, स्वाँत, थामडाडा र तातोपानीका कृषकले दैनिक एक हजार लिटर दूध बेच्छन् । वडाध्यक्ष अणबहादुर खड्काका अनुसार तीन वटा सहकारी संस्था र एक जना कृषकले बेनीमा दूध निर्यात गर्दै आएका छन् ।
‘सहकारीले कृषकले उत्पादन गरेको दूध संकलन गरेर बजार लैजाने गरेका छन्,’ उनले भने, ‘यो वडाबाट मात्रै दैनिक एक हजार लिटर दूध निकासी हुन्छ ।’ बास्कुना कृषि सहकारी संस्थाले बास्कुना र थामडाँडाबाट दैनिक दुई ६० लिटर, सिङ्गाको शुभकामना दुग्ध सहकारीले दैनिक दुई सय ६० लिटर र सिमलचौर विउविजन तथा कृषि सहकारी संस्थाले मंगलाका कृषकसहित चार सय ५० लिटर दूध बेनीमा ल्याउने गरेका छन् ।
सिंगाका कृषक कोपीपाल पौडेलले व्यक्तिगतरुपमा दैनिक ४० लिटर दूध बिक्री गर्छन् । वडाभर करिब सय बढी कृषकले गाईभैँसी पालन गरेर दूध उत्पादन गरेका छन् । बास्कुना कृषि सहकारीले बेनीमा आफ्नै बिक्री कक्ष सञ्चालन गरेको अध्यक्ष तिलक गुरुङले बताए । ‘बास्कुनालाई फलफूल र दूधमा नमुना (एफएम फ्रुट-मिलक) भिलेज बनाउने अभियानमा छौँ,’ उनले भने, ‘गाईभैँसी पालनबाट कृषकको जीवनस्तरमा परिवर्तन आएको छ ।’
उपभोक्ताको घरमै पु-याँउदा प्रतिलिटर एक सय २० र डेरीलाई प्रतिलिटर एक सय १० का दरले दूध बिक्री हुने गरेको कृषक कोपीपाल पौडेलले बताए । ‘वार्षिक करिब १७ लाख रूपैयाँ आम्दानी हुन्छ । खर्च कटाएर छ/सात लाख बच्छ,’ उनले भने, ‘पशुपालनबाट छोराछोरीको पढाइसँगै घरव्यवहार चलाउन सहज भएको छ ।’
कृषकले घरबाट संकलन केन्द्रमा ल्याउने दूध गाडीमा राखेर बेनी पठाउने गर्छन् । सडक यातायातको सुविधासँगै सिंगाका कृषकले दूध उत्पादनका लागि व्यावसायिक गाईभैँसी पाल्न थालेका थिए । विदेशबाट फर्किएका र युवाले पनि गाईभैँसीपालन गरेका छन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले सिंगा, अर्थुंगे र बरंगे क्षेत्रका कृषकले दूध उत्पादन गर्न थालेपछि आयात घटेको बताए । नयाँ फार्म स्थापना, स्तरोन्नति, गोठ सूधार, संकलन केन्द्र स्थापना, दूध ढुवानी गर्ने क्यान आदिमा केन्द्रले सघाएको छ ।
गत आर्थिक वर्षमा १८ लाख रूपैयाँ बजेट विनियोजन भएको उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत दोभान, बास्कुना र सिमलचौर कृषि सहकारीमा आबद्ध सय कृषकले प्रतिलिटर २.५० का दरले १५ लाख ९० हजार अनुदान पाएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया