NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २४ गते

धुलिखेल कारागारमा गलैँचा उद्योग स्थापना

काभ्रेपलाञ्चोक । जिल्ला कारागार कार्यालय धुलिखेलले कारागारभित्र गलैँचा उद्योग स्थापना गरेको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई काम दिने उद्देश्यले गलैँचा बुन्न सुरु गरिएको कार्यालयले जनाएको छ ।

एकपटकमा धागो तयार गर्नेसहित ५० कैदीबन्दीले गलैँचा बुन्ने काम गर्नेगरी व्यवस्थापन गरिएको कारागार कार्यालय प्रमुख गायत्री अधिकारीले जानकारी दिइन् । उनका अनुसार जिल्लाका नवराज केसीले ३० लाखको लगानीमा कारागारभित्र गलैचा उद्योग सुरु गरेका हुन्।

‘कैदीबन्दीलाई कारागारभित्र रहँदा समय बिताउँदै आम्दानी गर्न सकुन् भन्ने उद्देश्यले उद्योग स्थापना गरिएको हो’, अधिकारीले भनिन् ।यसअघि कैदीबन्दीले मुढा बनाउने तथा पोते बुन्नेलगायतका काम गर्दै आएका थिए । अधिकारीका अनुसार कारागारभित्र खाली रहेको जमिनमा प्रविधियुक्त मेशिन जडान गरिएको छ ।

केसीले उपलब्ध गराएका कच्चा सामग्रीबाट तयार भएका गलैचा आफैँले चीनमा बिक्री गर्ने योजना बनाएका छन् । कारागारका दक्ष तथा अदक्ष कैदीबन्दीलाई गलैँचा बुन्न सिकाइनेछ । कारागारले केही जानेकालाई थप सीप सिकाएर पूर्ण बनाउँदै अन्यलाई सिकाउँदै रोजगार उपलब्ध गराउने योजना बनाएको छ ।