बीमा र अनुदानले चौँरीपालक किसान उत्साहित
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका चारीपालक किसान बीमा र अनुदानको कार्यक्रमले उत्साहित भएका छन् । जिल्लामा लोप हुने अवस्थामा रहेको चौँरी भोटेकोसी गाउँपालिकाको लिस्ती, फुल्पिङकट्टी र मार्मिङका बासिन्दाका लागि भने आम्दानीको दरिलो माध्यम बनेको छ ।
परम्परागतरूपमा पालिने चौँरीलाई व्यावसायिक रूप दिएपछि स्थानीयवासीले चौँरी लोप हुन नदिन अभियान नै सञ्चालन गरेका छन् । लिस्तीमाथि छगाम बगामको चौँरीखर्कमा ६० चौँरी थपिएका छन् । एशियन नेपाल र सेन्डाकले संयुक्तरूपमा चौँरीपालक किसानलाई रु ५३ लाख अनुदान दिएको छ । साठी चौँरीका लागि रु ३३ लाख र खानेपानीसहित अन्य व्यवस्थापनका लागि रु २० लाख अनुदान उपलब्ध भएको हो ।
स्थानीय निमा शेर्पाका अनुसार चौँरीबाट उत्पादित दूधजन्य सामग्रीको बजारीकरणका लागि लेकाली खर्कमै सङ्कलन केन्द्र स्थापना गरिएको छ । किसानको उत्साहलाई ध्यानमा राख्दै गाउँपालिकाले प्रत्येक किसानको गोठमा रहेका चौँरीको बीमा र औषधोपचारको जिम्मा लिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताउनुभयो । चौँरीखर्कको व्यवस्थापन र उत्पादित सामग्रीको बजारीकरणका लागि स्थापना गरिएको चौँरी संरक्षण समितिले कुल आम्दानीको ६० प्रतिशत किसानलाई र ४० प्रतिशत कोषमा राखेर पुनः किसानकै लागि शेयरमा परिणत गर्ने योजना बनाएको छ ।
परम्परागतरूपमा चौँरीपालन गर्दै आएका जुगल गाउँपालिकाका किसान बीमाको कार्यक्रम लागू भएपछि खुसी भएका छन् । महँगो मूल्य पर्ने चौँरी मर्दा पूरै नोक्सानी व्यहोर्दै आएका किसानले अहिले बीमावापतको रकम पाउने भएका छन् । जुगल गाउँपालिकाले किसानलाई सहुलियतमा चौँरीको बीमा गरिदिएपछि चौँरीपालक किसानको सङ्ख्यासमेत बढ्न थालेको शेर्पाले बताउनुभयो । चौँरीको दूधबाट नौनी, घ्यू र छुर्पी उत्पादन हुन्छ । एउटै गोठमा ५० भन्दा बढी चौँरी पाल्ने किसानको उत्पादन खरिद गर्न व्यापारी खर्कमै पुग्ने गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया