अमेरिकी प्रतिबन्धले इरानी महिला जीवनदायी औषधिबाट वञ्चित

इरान । इरान सरकारका प्रवक्ताले अमेरिकी प्रतिबन्धले इरानी महिला जीवनदायी औषधिबाट वञ्चित भएका बताएका छन् । अमेरिकी प्रतिबन्धका कारण इरानलाई जीवनदायी औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पाउन कठिन भएको बताउँदै उनले अमेरिकाको कठोर शब्दमा आलोचना गरेका छन् ।
सरकारका प्रवक्ता अली बहादुरी जाहरोमीले तेहरानमा मङ्गलबार भएको साप्ताहिक पत्रकार सम्मेलनमा औषधि बनाउने कच्चा सामग्रीबाट हामीलाई वञ्चित गर्ने अमेरिकी कपट प्रष्ट भएको बताए । राम्ररी शिर नढाकेको अभियोगमा पक्राउ परेकी महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानी महिलाहरूको पक्षमा वकालत गरेको दाबी गर्ने अमेरिकाको कपटपूर्ण व्यवहारको पर्दाफास भएको उनले बताए ।
बाइस वर्षीया अमिनीको मृत्युपछि केही पश्चिमा देशले गरेका टिप्पणी र चालेका कदमको बारेमा बोल्दै जाहरोमीले उनका ती कदमले देशका महिलाहरूलाई समर्थन गर्ने बहानामा इरानमा दङ्गा भड्काउने उद्देश्य रहेको र त्यसबाट ती देशको दोहोरो मापदण्ड प्रकट भएको बताए । उनले इरानीहरूलाई आवश्यक औषधिमा पहुँच नदिनु अमानवीय भएको बताउँदै अमेरिकासहित पश्चिमा देशको आलोचना गरे ।
प्रवक्ता जाहरोमीले डेनमार्कको राजधानी कोपेनहेगनमा रहेको इरानको दूतावास परिसरमा शुक्रबार भएको आक्रमणलाई सङ्केत गर्दै इरानी राजदूत अफसानेह नादिपुर र अन्य कर्मचारीहरूलाई धम्की दिइएको थियो र सवारीसाधनमा क्षति पुगेको अप्रत्यक्षरूपमा उल्लेख गरे । उनले इरान र विश्व शक्तिहरू बीचको सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका फिर्ता हुनु र इरानमा पुनः लगाइएको प्रतिबन्धले इरानी सरकारलाई आफ्ना जनताको अधिकारको रक्षा गर्न र प्रतिबन्धहरू हटाउन थप दृढ तुल्याएको बताए ।
संयुक्त राज्य अमेरिकाले औषधि र खाद्यवस्तुलगायत मानवीय वस्तुहरू प्रतिबन्धको सूचीमा समावेश नगरेको दाबी गरे पनि इरानको तेल निर्यात र बैंकिङ क्षेत्रमा लगाइएको नाकाबन्दीले व्यवहारमा उसलाई त्यस्ता वस्तु आयात गर्नबाट वञ्चित गरेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया