छात्रालाई अध्ययन गर्ने अवसर दिन अफगानिस्तानलाई युरोपेली सङ्घको आग्रह
काठमाडौं (एजेन्सी) । अफगानिस्तानमा छात्रालाई विद्यालय तहमा अध्ययन अध्यापन गर्न पाउने वातावरण बनाउन युरोपेली सङ्घले माग गरेको छ ।
सङ्घका तर्फबाट अफगानिस्तानका लागि खटिएका विशेष प्रतिनिधि टोमस निक्लासोनले कक्षा ६ देखि माथिका छात्रालाई अझै पनि विद्यालय जान नदिइएको उल्लेख गर्दै तत्काल विद्यालय जाने अवस्था निर्माण गर्न माग गरेका हुन् ।
उनले अफगानिस्तानको प्रगति र विकासका लागि महिलाको शैक्षिकस्तरमा वृद्धि हुनुपर्नेमा पनि ध्यानाकर्षण गराएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा पनि उनले विद्यालयहरू तत्काल खुल्नु पर्ने र बालिकाहरूलाई विद्यालयमा पहुँच हुनुपर्ने उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, “देशभरका सबै विद्यालयहरू तत्काल खुल्न आवश्यक छ, विद्यालय जान चाहेका सबै बालबालिकाहरुलाई विद्यालय गएर पढ्न पाउने व्यवस्था हुनुपर्दछ ।”
बालिकाहरूमाथि विभेद हुँदै आएकाले बालिकाहरूलाई उनीहरूको उमेर अनुसारको शिक्षा उपलब्ध गराउन पनि उनले आग्रह गरे ।
अहिलेका बालिकाहरू भोलिका शिक्षिका, इन्जिनियर, चिकित्सक, सार्वजनिक सेवा प्रदायक, व्यवसायी, नेता आदि भएकाले उनीहरूलाई अहिले नै राम्रोसँग विकास गराउनु पर्नेमा उनले जोड दिए ।
“उनीहरूलाई आज राम्रो शिक्षा दिइएन भने भोलिको देश पनि राम्रो बन्न सक्दैन, त्यसैले उनीहरुलाई शिक्षा दिनु भोलिको देश राम्रो बनाउनु हो,” उनले लेखेका छन् ।
विशेष प्रतिनिधि निक्लासोनले अफगानिस्तानका सबै बालिकाहरु उनीहरुका दाजुभाईसँगै विद्यालय गएको देख्न चाहेको बताए ।
उनले अफगानिस्तानमा महिला अधिकार हनन भइरहेकाले विश्वको ध्यान जानुपर्नेमा समेत जोड दिए ।
अफगानिस्तानमा तालिवान सरकार गठन भएदेखि बालिकाहरुलाई विद्यालय जान, महिलालाई रोजगारी गर्न र घर बाहिर एक्लै हिँड्न प्रतिबन्ध लगाइएको छ । सरकारको यस निर्णयको विश्वभरिबाट विरोध भए पनि तालिवान सरकारले बेवास्ता गर्दै आएको छ ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया