एउटै पार्टीको बहुमत नआउने भएपछि गठबन्धनको विकल्प भएन – प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।
पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज पोखरामा उद्घाटन गर्दै उनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भएको स्पष्ट पारे ।
यो चुनावले संविधानको रक्षा, स्थिरतासँगै समावेशीतालाई अघि बढाउँदै राष्ट्रिय एकता स्थापित गर्ने बताउँदै उनले भने, “सबैको समावेशीता नै राष्ट्रिय एकता हुन्छ, राष्ट्रिय एकताबाट नै देश बलियो हुन्छ । यो सबैको प्रतिनिधित्व हुने व्यवस्था हो ।”
प्रधानमन्त्रीले गठबन्धनले जित्नुपर्ने आवश्यकता औंल्याए । गठबन्धनमा कुनै बहानामा शङ्का उपशङ्का गराउन नहुने बताउँदै उनले बोली तथा व्यहारमा तिक्तता आउने काम कसैबाट पनि हुन नहुनेमा जोड दिए । वर्तमानमा कुनै पार्टीको बहुमत आउन नसक्ने भएकाले पार्टी मिल्नुपरेको उनको भनाइ थियो ।
गठबन्धनमा सबैको जीत भएको उल्लेख गर्दै उनले यसलाई कायम राख्दा सबैको अवसर आउने बताए । निर्वाचनमा जाँदा सबै पार्टीमा कसैले टिकट पायो या कसैले नपायो त्यसमा प्रवाह नगरी लाग्न आग्रह गर्दै उनले गठबन्धनको सरकार बनेमा अन्य विभिन्न अवसर उपलब्ध हुने उल्लेख गरे ।
नेपालमा विसं २००७ देखिका विभिन्न परिवर्तन हुँदै गणतन्त्र, समावेशी लोकतन्त्र जस्ता उपलब्धि हासिल भएको बताउँदै प्रधानमन्त्री देउवाले यहाँको समावेशी लोकतन्त्र अन्य राष्ट्रका लागि पनि चासो र अध्ययनको विषय बनेको बताए ।
गण्डकी प्रदेशमा भव्यताका साथ नवौँ राष्ट्रिय खेलकुद सम्पन्न भएको र यसले यहाँको सम्भावनालाई पनि थप उजागर गरेको प्रधानमन्त्री देउवाले बताए । कला, संस्कृतिलगायतका धेरै विविधता रहेको यस मुलुकको समृद्धि र विकास अबको आवश्यकता भएको बताउँदै उहाँले संविधानको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि गठबन्धनको जीत अपरिहार्य भएकामा जोड दिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया