सहकारीमार्फत् व्यावसायिक कृषिमा जमेको जोडी
कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नं ८ मजगाउँकी सुस्मा चौधरी (२६) ले व्यावसायिक कृषिबाट मासिक करिब एक लाख आम्दानी गर्छिन् । उनलाई श्रीमान् वीरेन्द्र चौधरीले साथ दिएका छन् ।
करिब पाँच वर्षअघि वैवाहिक बन्धनमा बाँधिएको यो जोडीले बिहेलगत्तै व्यावसायिकरुपमा कृषि सुरु गरेको थियो ।
‘परिवार विगतदेखि कृषिमा भए पनि व्यावसायिक रुपमा भने काम भएको थिएन,’ सुस्माले भनिन्, ‘बिहे भएपछि भने काम सुरु गरेका हौँ ।’ उनीहरुले व्यावसायिक खेती सुरु गर्नका लागि स्थानीय स्तरमा सञ्चालित सिजर्नशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट ऋण लिएका थिए । सहकारीबाट लिएको ऋणबाटै अहिले उनीहरु तरकारी खेती र कुखुरापालन गरिरहेका छन् ।
सुस्मा तरकारीखेतीमा बढी ध्यान दिन्छिन् भने बीरेन्द्र कुखुरापालनमा बढी समय खर्चन्छन्। ‘सुरुमा मौसमी तरकारीखेती मात्रै गर्ने गर्दथ्यौँ, बेमौसमी तरकारीखेती गर्न आउदैनथ्यो,’ सुस्माले भनिन्, ‘तर अहिले मौसमी र बेमौसमी तरकारी उत्पादन गरिरहेका छौँ, बेमौसमी तरकारी उत्पादनका लागि सिर्जनशील सहकारीबाट सञ्चालित किसान परियोजना र युएसएआइडी नामक संस्थाले तालिम दिएको थियो ।’
तालिमका कारण तरकारीखेतीमै आत्मनिर्भर बन्न थप प्रेरणा मिलेको उनीहरुको भनाइ छ । तरकारीखेती सुरु गर्दा करिब ५० हजार मात्रै लगानी सुस्माले सुनाइन् ।
‘सुरुमा त लगानी नै लागेन तर बेमौसमी तरकारीखेती सुरु गरेपछि ५० हजार जति लगानी लाग्यो,’ उनले भनिन्, ‘अहिले बारीमा टमाटर, खुर्सानी, काउली, बन्दा र प्याज छन् । काँक्रा र बोडी भने भर्खर उम्रिरहेका छन् ।’
उनले काँक्रा र बोडीका लागि आफैँले तीन वटा टनेल बनाएकी छन् । तरकारी बिक्री वितरणको जिम्मा भने श्रीमान बीरेन्द्रले लिएका छन् । ‘खुद्रा खरिद गर्ने मानिस त घरमै आउने गर्छन्,’ सुस्माले भनिन्, ‘थोक बिक्रीका लागि भने अत्तरिया लैजानुपर्छ, जुन काम श्रीमान्ले गर्नुहुन्छ ।’ उनले दैनिक एकदेखि डेढ क्विन्टलसम्म तरकारी बिक्रीका लागि बजार पठाउने गरेको बताइन् ।
बीरेन्द्रले कुखुरापालनबाट अण्डा पनि बिक्री गर्ने काम गर्छन् । विसं २०७७ वैशाखमा हालेका बोभेन ब्राउन जातको कुखुराबाट मासिक ४० हजारभन्दा बढी कमाउने गरेको बीरेन्द्रले सुनाए ।
‘यो जातका कुखुराको उमेर दुई वर्षको हुन्छ, मैले हालेको दुई वर्षभन्दा बढी भइसक्यो,’ उनले भने, ‘यसबाट अहिले दैनिक आठ सयदेखि आठ सय ५० जति अण्डा उत्पादन भइरहेका छन्, सो अण्डाबाटै मैले आम्दानी गर्ने गर्दछु ।’
उनले अण्डाको बिक्रीवितरण दैनिकरुपमै गर्ने गरेको बताए । उनले अण्डा बिक्रीका लागि भने अत्तरिया नभई राजपुर र मनेहरा जाने गरेको सुनाए ।
बीरेन्द्रले अण्डा मात्रै नभई तरकारी पनि आफैँले बजार पु-याउछन् । सुस्माले उत्पादन गरेको तरकारी अत्तरिया बजार पु¥याएर आफू अण्डा बिक्रीका लागि अर्को बजार जाने गरेको उनले बताए ।
‘छ जनाको परिवार छ, सबैको पालनपोषण यहीँबाट भएको छ,’ उनले भने, ‘व्यावसायिकरुपमा कृषि काम गर्दा नोक्सान बेहोर्नु पर्दैन भन्ने कुराको ज्ञात भएको छ ।’
सहकारीबाट सुरुवाती चरणमा रु पाँच लाख ऋण लिएर व्यवसाय सुरु गरेका सुस्मा र बीरेन्द्रको जोडीले अहिले मासिक रु एक लाखको हाराहारीमा आम्दानी गर्दै आइरहेका छन् । उनीहरुले आफ्नै आठ कट्ठा जमिनमा कृषि काम गरिराखेका छन् ।
सुरुदेखि नै तरकारीखेती गरेकी सुस्माले फार्म खोलेकी छैन । उनले फार्मबिना नै कृषि काम गरिराखेकी छिन् । तर बीरेन्द्रले भने आशीष पोल्ट्री फार्ममार्फत् कुखुरापालन गरिराखेका छन् ।
कुखुराको बीमाका लागि भए पनि कृषि फार्म खोल्नुपरेको उनले बताए । करिब ११ लाख लगानी भएको कुखुरापालन व्यवसायलाई निरन्तरता दिइ फेरि कुखुरा थप्ने योजना बीरेन्द्रले सुनाए । ‘दानाको मुख्य अकासियो, चल्ला पनि मर्छन्,’ उनले भने, ‘तर अण्डाको भाउ बढ्न सकेको छैन । अहिले पनि क्रेटको रु तीन सय ५० देखि तीन सय ८० सम्ममा बिक्री गर्ने गर्दछु ।’
यता सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक गौरी चौधरीले महिलाको आर्थिक विकास र उत्थानका लागि नै संस्थाले काम गरिरहेको बताउछिन् । ‘महिला सहकारी हो, महिलाको आर्थिकस्तरमा वृद्धि गरी उनीहरुको आम्दानी कसरी गर्ने र उनीहरुको आथिकस्तर कसरी सुधार्ने भन्ने लक्ष्य रहेका साथ स्थापना भएको हो,’ उनले भनिन्, ‘सोहीअनुसार महिलालाई स्थापनादेखि नै महिलालाई विभिन्न व्यावसायिक काममार्फत् अग्रसर बनाउँदै गएका छौँ ।’ उनले अप्ठ्यारोमा महिलाका घरमै गएर त्यस्ता महिलाको जीवनस्तर उकास्न सफल भएको बताइन् ।
उनले संस्थाले महिलालाई विभिन्न व्यावसायिक कामका लागि विनाधितो रु तीन लाखसम्म र धितोमा रु १० लाखसम्म ऋण दिने गरेको बताइन् । उनका अनुसार सहकारीबाट ऋण लिएका करिब दुई सय जना महिलाले अहिले पनि विभिन्न किसिमका व्यावसायिक काम गर्दै आएका छन् ।
उनले महिलाका लागि संस्थाबाट मात्रै नभई अन्य विभिन्न निकायबाट पनि सहयोगका लागि पहल गर्ने गरेको बताइन् । उनले संस्थाको सुरुवाती चरणमा तरकारी नै नदेखिने ठाउँमा पनि अहिले व्यावसायिकरुपमा तरकारीखेती भएको देख्दा खुसी लाग्ने गरेको बताइन् ।
सुस्मा र बीरेन्द्र दुवैले कक्षा १२ सम्मको अध्ययन गरेकी छिन् । विवाहपछि घरपरिवारको जिम्मेवारी थपिँदा दुवैले पढाइ छोडेर कृषिलाई अँगालेकी हुन् । हाल कृषिमै लगाएको मेहनतले नै उनीहरुलाई व्यावसायिकरुपमा उत्कृष्ट किसान बनाएको छ । (रासस)
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया