NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

सर्लाहीका दुई चिनी उद्योग सञ्चालनमा

सर्लाही । जिल्लाका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् । किसानले बिक्रिगरेको उखुको भुक्तानी गर्न नसकेको एउटा उद्योग भने सञ्चालनमा आउन सकेको छैन ।

उद्योग परिसरमा उखु पर्याप्त आएकाले उद्योग सञ्चालन गरिएको इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए। उनका अनुसार किसानको मागअनुसार उखुको मूल्य निर्धारण नभए पनि चिनी उद्योगले तत्कालका लागि गत वर्षकै मूल्य कायम गरी उखु खरिद गर्न थालेको हो ।

हरिवनमा रहेको इन्दुशङ्कर र बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालनमा आएका भए पनि अन्नपूर्ण सुगर मिलले किसानको पुरानो उखुको भुक्तानी नगरेकाले सञ्चालनमा आउन नसकेको हो ।

जिल्लाका दुई चिनी मिलले पुस १ गतेबाट उखु खरिद सुरु गरी क्रसिङको तयारी गरेका थिए । सरकारले उखुको मूल्य निर्धारण नगर्दा गत वर्षकै मूल्यमा भुक्तानी दिइने र मूल्य निर्धारण भएपछि बाँकी रकम भुक्तानी दिने सहमति चिनी उद्योगहरूले गरेका छन् ।

किसानले उखुको मूल्य प्रतिक्विन्टल कम्तीमा सात सय पाँच कायम गर्नुपर्ने माग गरेका उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले बताए । उनका अनुसार उखु किसानले चिनी उद्योगमा उखु पु¥याएपछि भुक्तानी पाउने झन्झटिलो प्रक्रिया र उखुको एकैपटकमा भुक्तानी नपाउदा किसान मारमा परेका छन् ।

तर खेतमा उखु सुक्न दिनुभन्दा उधारो भए पनि बेच्नुपर्ने किसानलाई बाध्यता छ । जिल्लामा करिब ३० हजार बिघा क्षेत्रफलमा उखुखेती हुने गरेकामा यस वर्ष आधाभन्दा पनि कम जमिनमा किसानले उखुखेती गरेका उखु उत्पादक किसानका अगुवा राजकुमार मैनालीले बताए ।

उनका अनुसार जिल्लामा यस वर्ष करिब १४ हजार बिघा क्षेत्रफलमा उखु खेती भएको छ । इन्दुशङ्कर चिनी उद्योगले यस वर्ष करिब ४० लाख क्विन्टल उखु क्रसिङ गर्ने र यस वर्षका लागि उखुको मूल्य उद्योगले पाँच सय २० र सरकारले ७० किसानलाई भुक्तानी दिने उद्योगका प्रशासन शाखा प्रमुख ठाकुर नेपालले बताए ।

उखु उत्पादक किसानले सधैँ घाटा खाएर उखु बेच्नुपरेका कारण उखुको मूल्य बढाउन आफूहरूले माग राखेको उखु उत्पादक किसान महासङ्घका अध्यक्ष मैनालीले बताए ।