बाच्छाबाच्छीको विमान सफर
काठमाडौं । दक्षिण कोरियाबाट नेपाल आइपुग्ने विमान प्रायः वैदेशिक रोजगारीका लागि गएका युवाले भरिएका हुन्छन् । तर बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फरक दृश्य देखियो । एसियाना एयरलाइन्सको विमान मानिसले नभएर बाच्छाबाच्छीले खचाखच भरिएको थियो ।
गणतन्त्र कोरियाको कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयले नश्ल सुधारका लागि उन्नत जातका बाच्छाबाच्छी नेपाल सरकारलाई उपलब्ध गराउने सहमति गरेको थियो । त्यहीँ सहमतिअनुरूप पहिलो चरणमा बिहीबार ४२ कोरेली बाछी र साँढेहरू विमान सफर गराएर नेपाल ल्याइएको हो ।
हेफर इन्टरनेशनल नेपाल र हेफर इन्टरनेशनल कोरियाको सहयोगमा एसियाना एयरलाइन्स, दक्षिण कोरियामार्फत बिहीबार साँझ ५ बजे ती बाच्छी र साँढे विमानस्थलमा ओरालिएको थियो ।
केजमा राखेर ल्याइएको बाच्छाबाच्छीलाई लोडरको सहायताले ट्रकमा हालेर कृषि अनुसन्धान परिषद् (नार्क) को अनुसन्धान केन्द्र, खुमलटारमा राखिएको छ ।
पहिलो चरणमा नेपाल ल्याइएका ४२ बाच्छी र साँढे ६ देखि ९ महिनाका छन् । यिनलाई अब केही दिन त्यही राखिनेछ ।
यी कोरेली बाच्छीहरूले बुल मदर्सको न्युक्लियस वथान स्थापना गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।
पशु सेवा विभागकी महानिर्देशक डा. सम्झना कुमारी काफ्ले पाण्डेले नश्लसुधार कार्यक्रममा लागि कोरियाबाट उन्नत जातका बाच्छी र साँढे ल्याइएको जानकारी दिइन् । उनका अनुसार साँढेबाट वीर्य उत्पादन गरेर कृत्रिम गर्भाधानका लागि देशैभरि उपलब्ध गराइनेछ । प्राप्त बाच्छीमध्ये केहीलाई सरकारी नश्ल सुधार केन्द्र र ८१ वटालाई सिन्धुलीको कमलामाई नगरपालिकाका कृषक परिवारलाई हस्तान्तरण गरिनेछ ।
यी बाच्छा र बाच्छीले दुग्ध पदार्थमा देशलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास सरकारको छ ।
नेपाल आइपुग्न बाँकी बाच्छाबाच्छी भने तीन चरणमा नेपाल ल्याउने तयारी छ । हेफर नेपाल इन्टरनेशनलका अनुसार, २३, २५ र २८ डिसेम्बरमा सम्झौताअनुसारका बाच्छाबाच्छी नेपाल आइपुग्नेछन् ।
पहिलो चरणमा नेपाल आइपुगेका बाच्छी र साँढे बिहीबार नै नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । दक्षिण कोरियाका राजदूत पार्क चोङ–शुकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपककुमार खराललाई हस्तान्तरण गरेका हुन् ।
उपहारस्वरूप प्राप्त बाच्छाबाच्छी स्वीकार गर्दै कृषि मन्त्रालयका सचिव खरालले दक्षिण कोरिया सरकारलाई धन्यवाद ज्ञापन गरे । उन्नत जातका बाच्छाबाच्छीबाट नश्ल सुधारमा योगदान पुग्ने उनको विश्वास छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया