NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

प्रतिनिधि सभाको उपनिर्वाचन कहिले ?

निर्वाचन आयाेगले चार जना प्रतिनिधिसभा सदस्यसहित १३ जना प्रदेशसभा सदस्यको रिक्त पदमा असार पहिलो साता उपनिर्वाचन गर्ने तयारी गरेको छ । निर्वाचन कानुनअनुसार राष्ट्रिय सभातर्फको निर्वाचनको मिति आयोगसँगको परामर्शमा सरकारले तोक्ने र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति सरकारसँगको परामर्शमा आयोगले तोक्ने व्यवस्था छ । ‘प्रतिनिधिसभातर्फको निर्वाचनको मिति सरकारसँगको परामर्शमा आयोगले आफैं तोक्न सक्छ, त्यही व्यवस्थाअनुसार प्रतिनिधि र प्रदेशसभाको मिति पनि छिट्टै तोक्ने तयारीमा आयोग छ, सम्भवतः असारको पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त पदमा उपनिर्वाचन हुन्छ, हामी त्यही तयारीमा छौं,’ आयोगका एक पदाधिकारीले भने । आयोगले १५ असारपछि वर्षा लाग्ने भन्दै त्यसपछि १५ असोजअघि उपनिर्वाचन गर्न नसकिने बताएको हो । तर, असारको पहिलो सातामा कुनै कारणले निर्वाचन नहुने अवस्था भएमा भने १५ असोजपछि २५ असोजभित्र मात्रै उपनिर्वाचन गर्न सकिने आयोगको भनाइ छ । आयोगले प्रतिनिधिसभातर्फ चारसहित प्रदेश सभातर्फ प्रदेश १ मा एक, प्रदेश २ मा चार, लुम्बिनी प्रदेशमा दुई र कर्णाली प्रदेशमा पाँच र सुदूरपश्चिम प्रदेशमा एक गरी १३ रिक्त पदमा उपनिर्वाचन गर्नुपर्ने विवरण प्राप्त भएको बताएको छ । प्रतिनिधिसभातर्फ लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीको पद रिक्त छ । उनीहरू माओवादी केन्द्रबाट प्रतिनिधिसभामा सांसद बनेका थिए । प्रतिनिधि र प्रदेश सभाको हकमा ६ महिनाभन्दा बढी कार्यकाल बाँकी रहेको अवस्थामा रिक्त पदपूर्ति गर्न उपनिर्वाचन गर्न सकिने कानुनी व्यवस्था छ । प्रदेशसभातर्फ प्रदेश १ का टंक आंबुहाङ, लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीको स्थान रिक्त छ । यसैगरी, प्रदेश २ मा प्रदेशसभा सदस्य रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरूको स्थानसमेत रिक्त छ । यसैगरी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पनि नेकपा एमालेले कारबाही गरेपछि उनीहरूको पदसमेत रिक्त भएको छ । सो प्रदेशमा धर्मराज रेग्मीको स्थान पनि रिक्त छ । यस्तै सुदूरपश्चिममा एक सदस्यको पद रिक्त छ । राजधानी दैनिकमा खबर छ।