NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ३ गते

प्रधानमन्त्री ओलीद्वारा तीन हजार सिट क्षमताको सम्मेलन केन्द्र उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा निर्माण सम्पन्न भएको मुलुककै ठूलो तीन हजार सिट क्षमताको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको शुक्रबार भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले सो केन्द्र नेपालको सबैभन्दा बढी सिट क्षमता भएको सम्मेलन केन्द्र यही भएको उल्लेख गर्दै भने, ‘मुलुक विकासको भर्याङमा नयाँ सिँढी थपिएको छ । हामी आधुनिकीरणको बाटोतर्फ लागेका छौं ।’ हाल कोभिड महामारीले त्रसित बनाएको समयमा सकारात्मक भावनाले ओतप्रोत भइ अघि बढ्न उनले आग्रह गरे । उदाउँदो सूर्य समृद्धि र विकासको आधार रहने हुँदा केन्द्रको स्वरुप पनि त्यसै आकारमा निर्माण गरी ‘गोदावरी सनराइज’ नामकरण गरिएको ओलीको भनाइ थियो । सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले ४३ रोपनी जमिनभित्र निर्माण भएको सो सम्मेलन केन्द्रको भवनले मात्र ११ रोपनी १३ आना क्षेत्रफल ओगटेको बताए । उनले भने, ‘यस भवनको सहयोगमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गोष्ठी, सभाका साथै सम्मेलन गर्न सहयोग हुनेछ ।’ आधुनिक, प्रविधियुक्तका साथै सुविधा सम्पन्न सो भवनले विभिन्न काम गर्न सदैव सहयोग गर्ने उनको मत थियो । सो केन्द्र सहरी विकास तथा भवन निर्माण विभाग र केसी समानान्तर जेभीबीच गतवर्ष ०७६ साल कात्तिक २० गते सम्झौता भई कार्तिक २१ गतेबाट निर्माण अघि बढाइएको थियो । केन्द्र निर्माणको काम सम्पन्न भए पनि सरसफाइलगायत भवनमा रंगरोहण गर्दा लागेका दागहरु हटाउन र स्काफोल्डिंग झिक्ने बाँकी रहेको जेभीका परियोजना प्रबन्धक महेश भट्टले बताए । भवन निर्माणमा कूल ८१ करोड रुपैयाँ खर्च भएको भट्टले जानकारी गराए । अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा ए, बी र सी नामक तीन ब्लक छन् । ‘ए’ र ‘सी’ सम्मेलन केन्द्र प्रवेश गर्ने थलो हुँदा ‘बी’ भने मा तीन हजार क्षमताको सभाकक्ष रहको छ । केन्द्र भवनमा मुलुकमै पहिलो पटक ५८ मिटर लामो ट्रष्ट हालिएको कार्यक्रममा बताइयो । विभाग र जेभीबीच पहिलो पटक ०७६ साल चैत २४ गतेभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको भए पनि मुलुकमा आएको महामारीको कारण ढिलाइ भएको हो । उक्त केन्द्र निर्माणपछि गोदावरीमै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सकिने भएकाले गोदावरीबासीको मुहारमा हाँसो थपिएको छ । गतवर्ष कार्तिक १६ गते प्रधानमन्त्री ओलीले सो केन्द्र निरीक्षण गरी समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष