NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

स्थानीय तहको चुनाव सारिए सत्तागठबन्धनका लागि दुर्भाग्य : नेता पण्डित

काठमाडौं । पछिल्लो समय नेकपा एमालेले स्थानीय तहको निर्वाचन वैशाखमा हुनुपर्ने माग राख्दै आएको छ । सत्ता गठबन्धन भने मंसिरमा संघीयसँगै स्थानीय तहको निर्वाचन गराउने पक्षमा देखिएको छ । यसलाई लिएर एमालेका नेताहरूले आ–आफ्नो धारणा राख्दै आएका छन् ।

एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डित वैशाखमा स्थानीय तहको निर्वाचन नभए गठबन्धनका लागि दुर्भाग्य हुने बताउँछन् ।

नेपालवाचका सम्वाददाता गणेश पाण्डेसँगको कुराकानीमा उनले संविधान विपरीत स्थानीय तहको चुनाव सार्ने काम सत्ता गठबन्धनले गरेमा सरकारले नै संविधान च्यात्न खोजेको प्रमाणित हुने बताए।

स्थानीय निर्वाचनका विषयमा नेता पण्डितको धारणा यस्तो छ ।
यदि संविधान विपरित स्थानीय तहको चुनाव सार्ने काम सत्ता गठबन्धनले गर्‍यो भने त्यो गठबन्धनका लागि दुर्भाग्य हुनेछ । यसको अर्थ गठबन्धन सरकारले नै संविधान च्यात्न खोजेको प्रमाणित हुनेछ । त्यस्तो निर्णयको नेपाली जनता र गठबन्धन बाहेका राजनीतिक पार्टीहरू विरोधमा उत्रिन्छन् । कांग्रेसभित्रै आधा हिस्सा देउवाले ठीक गरेनन् भन्ने निष्कर्षमा पुग्ने छ । प्रचण्ड–माधव कांग्रेसभित्र देउवामाथि बुई चढेको छ भन्ने सन्देश प्रवाह हुन्छ ।

पहिलो कुरा चुनाव विरोधी गठबन्धनले संविधान र कानून बाझिएको खुबै प्रचार गरिरहेका छन् । गठबन्धन निकट वकिलहरूले पनि बकबास तर्क गरिरहेका छन् । चुनाव धकेल्न विभिन्न कानूनी छिद्रहरू खोजिरहेका छन् । उनीहरूले दावी गरेजस्तो संविधान र कानूनमा केही पनि त्रुटी छैन । यी सबै वकिलका बकबास मात्र हुन् । वकिलका काम नै घटना प्रधान बनाएर अनावश्यक विवाद सिर्जना गर्न खोज्छन् । उनीहरू घटना एउटा हुन्छ, मुद्दा दुई तिरबाट लड्छन्। वकिलले एउटै व्यक्तिको वादी र प्रतिवादी बनेर मुद्दा लडेको पनि नेपालमा उराहरण छ । त्यसैले वकिलको पछि लाग्नु उपयुक्त छैन ।

दोस्रो कुरा संविधानमा उल्लेख भएको आवाधिक निर्वाचन र गाउँ÷नगर सभाको गठन फरक कुरा हो किनभने त्यहाँ निर्वाचितरूले मनोनित गर्ने व्यवस्था पनि छ । त्यसकारण छ महिनाभित्र भनेको हो । गठबन्धन दलहरू अहिले चुनावदेखि डराएका छन् । त्यसैले उनीहरू कहाँबाट चुनाव पछि धकेल्न सकिन्छ भन्नेतिर लागेका छन् । गठबन्धन संविधानमा सकारात्मक कुरा होइन, नकारात्मक कुरा खोज्ने धुनमा लागेको छ । यसकारण नकारात्मक कानूनी छिद्र खोज्न लागेका छन् कि चुनाव आएपछि यिनीहरूलाई भूत सवार हुन्छ । त्यसैले डरले थरथर कामेका हुन् । चुनाव जित्न सकिँदैन भन्ने उनीहरूलाई लागेको छ । उनीहरू षड्यन्त्रबाट प्राप्त गरेको सत्तालाई लामो समयसम्म टिकाउने, लोकतन्त्र, संविधान र कानूलाई कमजोर देखाउने प्रयत्न गरिरहेका छन् । त्यसको कुनै अर्थ छैन ।

गठबन्धन चुनावमा जान डराउनुको कारण दुईवटा कारण छन् । एउटा जनमत गठबन्धनको विरुद्ध छ । अर्को जुन पाँच दलीय गठबन्धन छ, ती पाँचतिर फर्किएका छन् । त्यसकारण एमाले एक्लैको जनतदेखि उनीहरू थर–थर कामिरहेका छन् ।

एमालेविरुद्ध घेराबन्दी गर्न उनीहरूले जुन पाँच दलीय गठबन्धन बनाएका छन्, त्यसमा सहभागी दलहरूलाई नै विश्वास छैन । देश र जनताको आवश्यकता पूर्ति गर्न बनाइएको गठबन्धन भन्दा पनि आ–आफ्ना स्वार्थ पूरा गर्न बनाएको मोर्चा हो। कहिलेकाँही गठबन्धनमा दलको संख्या बढी हुनसक्छ तर शक्ति हुँदैन । जस्तै उदाहरणको रूपमा एकहप्ता अगाडि मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चा, जसलाई निर्वाचन आयोगले खारेज गरिदियो । ती मोर्चा यसअघि चुनावको समयमा बनेको थियो । त्यसले एकसिट पनि जित्न सकेन । देखाउनको निम्ति ३३ दल थियो तर त्यो कागजमा सिमित थियो । त्यस्तै अहिले पाँच दलीय गठबन्धन छ, त्यहाँ देउवाको बुईमा प्रचण्ड–माधव सवार भएका छन् । यिनीहरूले देउवाको टाउकोमा कतिदिन फोहोर गर्छन् थाहा छैन । तर एमाले जहिले जतिखेरपनि आवधिक निर्वाचनको पक्षमा छ । संविधान बमोजिम आवधिक निर्वाचनमा जानुको विकल्प छैन ।

बुधबार सकिएको राष्ट्रिय सभा निर्वाचनबाट गठबन्धन निकै हौसिएको देखियो । राष्ट्रिय सभाको परिणामले आगामी निर्वाचनमा एमालेलाई कुनै असर गर्दैन । यस्तो खालको परिणामबाट हामी दुःखी छैनौं । एमालेले एकसिट मात्र ल्याए भने राजनीतिबाट सन्यास लिन्छु भनेर तिनै माधव नेपालले भनेको होइन ? एक सिट त आयो । अर्को सिट बराबर भएपनि गोलाप्रर्थाबाट गर्‍यो । नत्र भने हाम्रो दुई सिट आएको थियो । त्यसैले राष्ट्रिय सभाको चुनावी परिणामबाट एमालेलाई देखाइदिन्छु भन्नु गठबन्धनको मुर्खतामात्र हो । यो चुनाव निर्वाचित मध्येको प्रतिनिधिले दिने भोट भएकाले एमालेले पराजय भोगेको हो । यिनीहरू आम मतदाता होइनन् । त्यसैले यसको असर आगामी चुनावमा पर्दैन । आगामी निर्वाचनमा पाँच दल त के ५० दल बनाएर गएपनि एमालेलाई कुनै असर पर्दैन । तागत छ भने चुनाव लडेर देखाए हुन्छ । चुनावी मैदानमा एमाले चुनौती सामना गर्न तयार छ ।

ताजा अपडेट

नेपालवाच विशेष