८५ हजार विदेशी कामदार लिँदै अमेरिका, क–कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । अमेरिकाले ८५ हजार विदेशी कामदारलाई आफ्नो देशभित्रका विभिन्न कम्पनीमा रोजगारी दिने भएको छ । एचवानबी भिसाअन्तर्गत मार्च १ देखि आवेदन आह्वान गरिँदैछ ।
भिसा आवेदन दिन कुनै शुल्क लाग्दैन । आवेदन १८ मार्चसम्म दिन सकिने छ । तर आवेदक आफैंले आवेदन दिन सक्दैन । अमेरिकामा रहेका कम्पनीले रोजगारको अफर गरेको खण्डमा आवेदन दिन सकिने छ । रोजगारदाता कम्पनी, त्यसको प्रतिनिधि तथा उसका कानून व्यवसायीले मात्र अनलाइन आवेदन भरिदिनसक्ने यूएससीआईएसले प्रष्ट पारेको छ ।
आवेदकको छनौट गोलाप्रथाबाट हुनेछ । मागबमोजिम आवेदन परेमा मार्च ३१ मै सर्ट लिस्टिङ गर्ने अमेरिकी सरकारको तयारी छ । त्यसपछि सर्ट लिस्टिङमा समेटिएकाको योग्यता हेरेर छनौट गरिने छ ।
मार्च १ बाट अनलाइन दर्ता खुल्ने भिसा एचवानबीको लागि विभिन्न योग्यताका मापदण्डहरू तोकिएका छन् । आवेदकमा कम्तीमा स्नातक वा सोसरह उत्तीर्ण गरेको अनुभव हुनुपर्नेछ । र त्यस्तो डिग्री अमेरिकाको मान्यताप्राप्त कलेज वा विश्वविद्यालयबाट प्राप्त गरेको हुनुपर्नेछ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेकाले पनि आवेदन दिन सक्ने यूएससीआईएसले जनाएको छ ।
विशेष पेशाको अभ्यास निम्ति राज्यबाट लाइसेन्स पाएको, डिग्रीसरह कुनै विषयगत ज्ञान हासिल गरेको तथा कुनै विषयमा विशेषज्ञता हासिल गरेका व्यक्तिले पनि यसबाट फाइदा लिन सक्ने जनाइएको छ ।
शैक्षिक योग्यता पूरा आवेदकले कम्पनीको काम गर्न सक्ने विश्वास दिलाउन सक्नुपर्नेछ ।
कामदारका लागि सामान्यतया डिग्री चाहिने वा उक्त पदका लागि सो सरहको योग्यता चाहिने कुरा कम्पनीले पुष्टि गर्नुपर्छ ।
क्षमता भएकाले मात्रै अमेरिकी कम्पनीको कामदार बनेर काम गर्न पाउने छन् । प्रलोभन देखाएर कसैले पठाइदिने वचन दिएको खण्डमा त्यसलाई विश्वास नगर्न जानकारहरूले सुझाएका छन् ।
प्रतिक्रिया