NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

विद्यालय बन्द हुँदा बालबालिका गोठालो र मेलापातमा

सुनिल मण्डेल/बझाङ । कोरोना संक्रमण फैलिन नदिन सहरी क्षेत्रमा मात्रै होइन, ग्रामीण क्षेत्रका विद्यालय पनि बन्द छन् । इन्टरनेटको सहज उपलब्धताले सहरी क्षेत्रमा वैकल्पिक शिक्षणका रूपमा अनलाइन कक्षा चलिरहेका छन् ।

तर, ग्रामीण क्षेत्रका बालबालिका भने सिकाईबाटै वञ्चित भइरहेका छन् । विद्यालय बन्द भएपछि बालबालिका गोठालो र मेलापात जान बाध्य छन् ।

बझाङका अधिकांश बालबालिकाको स्थिति त्यस्तै छ । विद्यालय तथा क्याम्पसले वैकल्पिक शिक्षाको रूपमा अनलाइन कक्षा त सञ्चालन गरेका छन् । तर, जिल्ला सदरमुकाम चैनपुरबाहेकका क्षेत्रमा राम्रो इन्टरनेट नहुँदा वैकल्पिक शिक्षण प्रभावकारी भएको छैन ।

‘विद्यालय पनि बन्द छन्, साथीभाइसँग रमाइलो पनि हुने, घरमा पनि सहयोग पुग्ने भएकाले आजभोलि गोरु बाख्राको गोठालो आउने गरेको छु,’ बुङ्गल नगरपालिका–४ का दिनेश कुवँरले भने, ‘तीन वर्षयता राम्रोसँग विद्यालय जान पाएको छैन । कोरोना महामारीका कारण पछिल्लो दुई वर्षमा आन्तरिक मूल्यांकनबाट नै माथिल्लो कक्षामा पुगियो । यसपालि पनि त्यस्तै होला जस्तो छ ।’

उनीजस्तै अधिकांश विद्यार्थीको काम विद्यालय बन्द भएपछि कि साथीसँग गाउँ डुल्ने कि गोठालो, मेलापात र घरका अन्य काम सघाउने नै भएको छ ।

भौतिक पढाइ हुन छाडेपछि विद्यार्थीलाई पढ्ने बानी छुटेको छ । त्यसैले उनीहरू पनि घरकै काममा रमाउन थालेको अभिभावकहरू बताउँछन् ।

पहाडीक्षेत्रमा शिक्षण सिकाइका वैकल्पिक उपाय प्रभावकारी नहुँदा गएको दुई वर्षयता बालबालिकाको पढाइमा नकारात्मक असर परिरहेको अनुभव अभिभावकले पनि गरिरहेका छन् ।

अधिकांश ठाउँमा इन्टरनेटको पहुँच नहुने र भएको ठाउँमा पनि प्रभावकारी नहुनाले यस्ता समस्या निम्तिएको उनीहरू बताउँछन् । समस्या समाधान गर्न सहरी र ग्रामीण क्षेत्रका बालबालिकालाई फरक व्यवस्था गरी शिक्षणलाई प्रभावकारी बनाउनुपर्ने उनीहरूको माग छ ।