NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

देवी सरस्वतीको नाममा भ्रष्टाचार : हेडसर भन्छन्, ‘भ्रष्टाचार गर्नु बाध्यता थियो’

काठमाडौँ । एउटा नेपाली युक्ति छ, जो अगुवा उही बाटो…. । अर्थात नेतृत्वकर्ता नै भ्रष्ट भयो भने त्यहाँ सुशासन हुँदैन भन्ने अर्थमा यो युक्ति प्रयोग गरिन्छ । खोटाङको हेलसी तुवाचुङ् नगरपालिका वडा नं ५ स्थित दुर्छिम उच्च माध्यामिक विद्यालयमा ठ्याक्कै यस्तै भयो ।

उक्त विद्यालयका हेडसर खम्बराज राई, तत्कालिन गाविस सचिव केशिराज राई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रकुमार राईले नक्कली बील भरपाई पेश गरेर पचास हजार भ्रष्टाचार गरेको खुलेको छ ।

यो घटनाले मौका मिल्दा सबै भ्रष्ट हुन्छन् भन्ने सन्देश दिएको छ भने त्यस्ता भ्रष्ट शिक्षकले विद्यार्थीलाई कसरी सुशासित हुनुपर्छ भनेर सिकाउँलान् भन्ने प्रश्न जन्माएको छ । सन्दर्भ हो, खोटाङ जिल्लाको हेलसी तुवाचुङ् नगरपालिका वडा नं ५ स्थित दुर्छिम उच्च माध्यामिक विद्यालयको प्रागणमा सरस्वती मन्दिर बनाएको भनेर नक्कली कागजपत्र देखाएर भ्रष्टाचार गरेको विषय ।

 

२०६७ माघ ८ गते भएको उक्त भ्रष्टाचारको घटना भर्खरै सार्वजनिक भएको छ । तीनै जनाको मिलोमतोमा उनीहरुले विद्यालय प्रागणमा सरस्वती मन्दिर बनाएको कागजपत्र बनाए । त्यस्तो नक्कली कागजपत्रमा शुरुमा जिल्ला विकास समिति र विद्यालय व्यवस्थापन समितिबीच विद्यालय प्रागणमा सरस्वती मन्दिर बनाउने सम्झौता भएको छ ।

त्यो सम्झौताअनुसार विद्यालय प्रागणमा मन्दिर बनेको भन्दै गा.वि.स. सचिव केशिराज राईले २०६७/१०/६ च नं ८५ को पत्रबाट सम्झौताअनुसार काम सम्पन्न भएको सिफारिस गरेका छन् । त्यसपछि प्राध्यापक राईले नक्कली स्टिमेट, डोर/हाजीर, विल भरपाई, वैठकको माइन्युटहरु समेत तयार गरी ५० हजार रुपैयाँ भुत्तानी लिएका हुन् ।

उक्त विषयमा प्राध्यापक राईलाई विद्यालयमा सरस्वती मन्दिर नबनेको र त्यसरी नक्कली कागजपत्र मिलाएर भुत्तानी लिनु गल्ति भएको स्वीकार गरेका छन् ।

नेपालवाचसँग प्राध्यापक राईले दिएको बयान

मलाई जिल्ला विकासले चिट काटेर ३० हजार रूपैयाँ दिएको थियो । त्यो ३० हजार रूपैयाँ तत्कालिन समयको फागुन महिनामा लिएको छु । तर, त्यो रकम मैले आफ्नो व्यक्तिगत खर्चका लागि लिएको होइन । त्यतिबेला एसएलसी परीक्षामा सञ्चालन गर्दा त्यो रकम खर्च भएको हो । एसएलसी परीक्षा सञ्चालन गर्दा ४० हजार रूपैयाँ खर्चको अनुमान गरिएको थियो । तर, परीक्षा सञ्चालन गर्दा पैसा बढी खर्च हुन आयो ।

परीक्षा सञ्चालन गर्दा सुरक्षाकर्मीलाई खाना खाजा खुवाउने लगायतका काममा खर्च भयो । सत्य कुरा यही हो । त्यहाँ नपुगेको कुरा के हो भने, त्यतिबेला मलाई रकम भुक्तानी गर्दा कुनै पनि शिर्षक बनाएर पठाउनुहोस्, ३० हजार रकम पाउनुहुन्छ भनेर भनियो। मलाई जे भनिएको हो त्यही मानें ।

मेरो कार्यकाल पछिका अधिकारीले विद्यालयका सारा डकुमेन्ट छरपस्ट पारेका हुन् । मैले भ्रष्टाचार गर्न चाहेको होइन र परिस्थितीले त्यसो गराइएको हो । अहिले यसभित्र दुश्मनी लागेको हो । बरु म गइसकेपछि त्यहाँ यो भन्दा ठूला भ्रष्टाचार भएका छन् ।