NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

भारतबाट ‘ब्राण्डेड’ रक्सी तस्करी गरेर काठमाडौंमा कारोबार, कराेडाैंकाे रक्सीसहित समातिए चार जना

ड्युटी फ्रिको भन्दै पार्टी प्यालेसमा सप्लाई

काठमाडौं । नेपाल प्रहरीले भारतबाट महँगो रक्सी अवैध रुपमा तस्करी गरेर काठमाडौंमा बिक्री वितरण गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ ।

पर्साको गादी घर भई हाल बुढानिलकण्ड एरियामा बस्दै आएका सन्तोष चन्द्र बख्रेललगायतका व्यक्तिलाई अवैध मदिरा कारोबारको आरोपमा प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइसकेपछि अनुसन्धानका क्रममा एक महिनामै करोडौंको मदिरा अवैध रूपमा भारतबाट ल्याएर काठमाडौंमा कारोबार गर्ने गरेको पाइएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

प्रहरीले बख्रेलसँगै कागेश्वरी मनहरा नगरपालिका–६ का ३० वर्षीय शैलेश पन्त, पर्साको सुवर्णपुरमा घर भइ अहिले हाँडीगाउँमा बस्दै आएका २८ वर्षीय रविन पाख्रिन र सर्लाहीको वरहथवा–९ घर भई हाल चावहिल बस्दै आएका ३८ वर्षीय नारायणप्रसाद घिमिरेलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले चलाएको अप्रेशन लिमा अन्तर्गत उनीहरूले भारतबाट रेड लेवल, ब्ल्याक लेवल, एब्सुलेट भोड्का र चिभास रिगल लगायतका रक्सी भारतबाट तस्करी गरेर काठमाडौंमा कारोबार गर्ने गरेको पाइएको छ ।

यस्तै, उनीहरूले उक्त महंगो रक्सीलाई काठमाडौंमा ड्युटी फ्रिको हो भन्दै बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । नियन्त्रणमा लिइएका चारै जनाको साथबाट करोडौं मूल्यको रक्सी पनि बरामद गरिएको छ ।

थप अनुसन्धानका लागि प्रहरीले आज पक्राउ परेकालाई राजस्व अनुसन्धन विभाग हरिहरपुभवनमा पठाइएको छ । मदिरालाई भने गुणस्तर परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले रवि भन्ने एक भारतीय नागरिक र सन्तोष बख्रेलको योजनामा भारतबाट राजस्व छली गरेर रक्सी काठमाडौंसम्म ल्याउने गरेको पनि पाइएको छ ।

तीन महिनाअघि नै बख्रेलले पहिलोपटक १६० कार्टुन, दोस्रोपटक २०० कार्टुन र तेस्रोपटक ३०० कार्टुन ब्ल्याक लेवल, रेड लेवल, चिभास रिगल र एब्सुलेट भोड्का नेपाल ल्याइ बिक्री गरिसकेको पाइएको छ

अनुसन्धानका क्रममा सन्तोष चन्द्र बख्रेलले बजारमा बिक्री वितरणका लागि ईन्फिनिटी लिक्योर, मुलपानीका सञ्चालक शैलेश पन्तसँग मिलेर काम गर्ने गरेको भेटिएको छ ।

यस्तै पक्राउ परेका अर्का आरोपी नारायणप्रसाद घिमिरेले भने उक्त ब्राण्डका रक्सीहरु ड्युटी फ्रिको हो भन्दै ग्राहकलाई बिक्रै गर्दै आएका थिए । उक्त मदिराहरू विभिन्न पार्टी प्लालेसहरूमा बिक्री गर्दै आएको पनि खुलेको छ ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा करोड बढी मूल्यको मदिरा पनि नियन्त्रणमा लिएको छ । करिब एक करोड ५० लाख मूल्य बराबरको २९६ कार्टुन मदिरा बरामद गरेको महानगरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।