बारा र चितवनका सिडिओमाथि मल कालोबजारीको आरोप, गृहमा उजुरी

बारा । बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल र चितवनका प्रजिअ आस्मान तामाङमाथि मल कालोबजारीको आरोप लागेको छ ।
बाराका किसानहरूले यि दुई प्रमुख जिल्ला अधिकारीमाथि मल कालोबजारीको आरोप लगाउँदै स्पष्टिकरण सोधेर कारबाही गर्न गृहमन्त्रालयमा उजूरी दिएका छन् ।
किसानहरुका अनुसार बाराका प्रमुख जिल्ला अधिकारी कटुवालले कालोबजारी गर्ने उद्योगीहरूलाई समयमै कारवाही नगरेर सहयोग गरेका छन् ।
यस्तै कटुवाल अघिका प्रमुख जिल्ला अधिकारी तामाङले प्रहरीले गरेकोे सिफारिस अनुरूप अवैध मल बेच्नेलाई उन्मुक्ति दिएको आरोप छ ।
करिब १२ वर्षदेखि बाराको परवनीपुर गाउँपालिकामा शिवशक्ति बायोप्लान्टिक प्रा.लि. नामको उद्योग चलाएर बसेका भारतीय उद्योगीले मलमा कालोबजारी गरेको किसानहरुको गुनासो छ ।
उनीहरुका अनुसार भारतीय नागरिक कमलकान्त सिंह, रामकान्त भारती, संजित यादव र नेपाली नागरिक प्रकाश कोइरालाले बारा, वीरगञ्जसहित मकवानपुर क्षेत्रका जनतालाई मल कालोबजारी गरेर ठग्दै आएका छन् ।
रासायनिक मलका लागि उनीहरूले किसानबाट एक महिना अघि नै पेश्की रकम असुलेर मल अभाव गराउने र कालोबजारी गरेको किसानहरूको आरोप छ ।
यसबारे किसानले प्रजिअ कटुवाललाई जानकारी गराएपछि उद्योग सिल भयो । तर उद्योग सिल भएको हप्तादिन बितिसक्दा पनि आरोपीलाई कारवाही नगरेको उनीहरुको आरोप छ । किसानहरुले प्रजिअ अधिकारी व्यपारीहरुलाई कारबाही होईन, उन्मूक्ति दिन चलखेलमा लागेको आरोप छ ।
प्रमुख जिल्ला अधिकारी कटुवाल र तामाङ दोषिलाई संरक्षण गर्न लागिपरेको निष्कर्ष सहित किसानहरुले सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयमा उजूरी दिएका हुन् ।
यसअघि यसबारे प्रमुख जिल्ला अधिकारी कटुवाललाई पटक–पटक गुहारे पनि कालाबजारीलाई कारवाही नगरेको किसानको गुनासो छ ।
सूचना पाएपछि प्रजिअ कटुवालको निर्देशनमा माघ ४ गते थप अनुसन्धान र त्यसबारे छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी देवराज सेढाईं, बाराका प्रहरी प्रवक्ता राजेश थापा, वाणिज्य आपूर्तिका पदाधिकारीसमेतको टोलीले उक्त उद्योगमा सिल गरेको थियो ।
उद्योग सिल गरेपछि सिडियो अधिकारीले थप कारबाहीका लागि चासो नराखेको किसानहरुको आरोप छ । ‘दोषीलाई कारबाही गर्न प्रशासनले थप प्रक्रिया पूरा गरी कारवाहीको दायरामा ल्याउनुपर्ने हो । तर, त्यसो भएन ।
उद्योग सिल भएको दश दिन बितिसक्दा पनि त्यो उद्योग खोल्ने या नखोल्नेबारे प्रशासनले अहिलेसम्म टुंगो लगाउन सकेको छैन ।’ उनीहरुले नेपालवाचसँग भने ।
प्रहरी प्रशासनसमेतको मिलेमतोमा सिल गरिएको उद्योग खोल्न प्रजिअ कटुवाल नै लागि परेको किसानहरूको आरोप छ ।
अवैध मल लोड गरेको थाहा पाउँदा पनि मौन प्रहरी प्रशासन
उक्त कम्पनीले इजाजत बिनाको मल लोड गर्दा प्रहरी प्रशासन पनि मौन रहेकोबारे किसानहरूको आपत्ति छ । गत १ माघमा चितवन राप्ती नागरपालिका ४ पिपले बजारबाट उक्त कम्पनीले इजाजत बिनाको मल लोड गरेका थिए । कृषि ज्ञान केन्द्र चितवनले समेत उक्त मल अवैध रहेको र उनीहरूलाई कारवाही गर्नुपर्ने बताएको थियो ।
तर प्रहरीले मलसहित ट्रकलाई नियन्त्रणमा लिएर पक्राउ परेकालाई पनि समेत छोडिदियो । त्यस्तै, मुख्य आरोपी भनिएका भारतीय नागरिकलाई पक्राउ नगरी संरक्षण गरेको छ । अर्कोतर्फ चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले उनीहरूमाथि कारवाही नगरी माघ २ मा छाडिदिएका थिए ।
त्यहाँ पनि प्रहरी प्रतिवेदनअनुसार कारवही नभएको किसानहरूले जनाएका छन् । थप कारवाही गर्नुपर्नेमा प्रहरी भने उजुरी नै परेको छैन भन्दै पन्छिएको थियो । यो घटनाले प्रहरी प्रशासनसमेत कालोबजारीको आडभरोसामा चलेको प्रष्ट हुने किसानहरू बताउँछन् ।
यसबारेमा विस्तृत छानविन गरिपाउँ भन्दै किसानहरूले बारा र चितवनका प्रजिअलाई स्पष्टिकरण सोध्न माग गरेकाछन् । त्यस्तै, कालोबजारीमा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याउन पनि उनीहरूको माग छ ।
प्रतिक्रिया