कैलालीका स्थानीय तहले अझै गर्न सकेनन् हिउँदे अधिवेशन

भजनी । कैलालीका अधिकांश स्थानीय तहले हिउँदे अधिवेशनको अहिलेसम्म तयारी समेत गरेका छैनन् । प्रथम अधिवेशन भएको छ महिनाभित्र दोस्रो अधिवेशन गर्नुपर्ने व्यवस्था छ ।
संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले हिउँदे अधिवेशन गत पुस महिनामै सुरु गर्नुपर्ने थियो । पछिल्लो समय आफैँले बनाएको कानुन कार्यान्वयनमा यहाँका जनप्रतिनिधि चुकेका छन् ।
टीकापुर नगरपालिकाको नगरसभा सञ्चालन कार्यविधि २०७४ अनुसार एउटा अधिवेशन समाप्ति र अर्को बैठक प्रारम्भका बीचको अवधि छ महिनाभन्दा बढी नहुने उल्लेख छ । सो कार्यविधिअनुसार नगरपालिकाले पुस महिनाभित्र अर्को अर्थात् हिउँदे अधिवेशन गरिसक्नुपर्ने भए पनि माघ महिनाको तेस्रो साता भइसक्दासमेत अधिवेशन बोलाउने कुनै तयारी नगरपालिकाले गरेको छैन ।
नगर प्रवक्ता दीर्घबहादुर ठकुल्लाले हिउँदे अधिवेशन पुस महिनामै बोलाउनुपर्ने भए पनि नगरसभाका लागि आवश्यक ‘एजेन्डा’ तय नभइसकेका कारणले पनि ढिलाइ भएको बताएका छन् ।
‘अधिवेशन बोलाउने नगरप्रमुखले हो, अहिलेसम्म नगरसभा बोलाउनेबारे कुनै छलफल पनि भएको छैन’, उनले भने, ‘हामीले भनेर हुँदैन, माघमा पनि अधिवेशन बोलाउने सम्भावना निकै कम भइसकेको छ । सम्भवत हिउँदे अधिवेशन फागुनमा हुन्छ होला ।’ उनले नगरपालिकाले भर्खर चालु आर्थिक वर्षको आयोजनाको बोलपत्र प्रक्रिया सुरु भएकाले बोलपत्र हुन नसकेका र योजना फेरबदल गर्नुपर्ने हुनसक्ने भएकाले पनि हिउँदे अधिवेशन सुरु हुन समय लागेको जानकारी दिए ।
नगरसभा तथा गाउँसभा बोलाउनुभन्दा १५ दिन पहिले नगरप्रमुख वा अध्यक्षले सूचना जारी गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाको केही स्थानीय तहले कार्यान्वयन गरेको भए पनि केही जनप्रतिनिधि सो व्यवस्थाको जानकारी नभएको जस्तो समेत गर्दै आएका छन् । भजनी नगरपालिकाले पनि हिउँदे अधिवेशनको कुनै तयारी गरेको छैन । नगरपालिकाले यही माघ महिनाभित्रै नगर अधिवेशन गर्ने बताए पनि नगरसभाको कार्यविधिअनुसार माघमा सम्भव देखिएको छैन ।
नगरप्रमुख शेरबहादुर चौधरीले नगरसभाका तयारीमा रहेको अवस्थामा अधिकांश कर्मचारी र जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण हुँदा कार्यालय नै बन्द गर्नुपरेको बताए ।
‘माघ महिनामा हिउँदे अधिवेशन गर्ने तयारी थियो । सङ्क्रमणका कारण प्रभावित भएको छ । हामी नगरसभाको उद्घाटन त माघ महिनाभित्रै गर्छौं’, उनले भने, ‘गत वर्षभन्दा हामी ढिलो पक्कै पनि भएका छौँ, तर पनि यसले कुनै समस्या ल्याउलाजस्तो लाग्दैन र अर्को कुरा यस वर्ष पार्टीका अधिवेशनले पनि पुसमा गर्नुपर्ने अधिवेशन ढिलो भएको हो ।’
जानकी गाउँपालिकाले पनि गाउँसभा बोलाउन सकेको छैन । गाउँ कार्यपालिकाको बैठकले माघ २० देखि २५ गतेभित्र गाउँसभा बोलाउने निर्णय भएको जनाएको छ । गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरीले विगतका वर्षहरूमा पनि गाउँसभाको हिउँदे अधिवेशन माघ महिनामै गर्दै आएको बताए ।
‘हिउँदे अधिवेशनका लागि निर्णय गरिसकेका छौँ । माघ २० देखि २५ सम्म गाउँसभाको उद्घाटन हुन्छ । सकेसम्म माघ महिनामै नभए आगामी फागुन पहिलो सातासम्म अधिवेशन सम्पन्न गर्छौं ।’
ताजा अपडेट
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल बढ्याे
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
-
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन
-
नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
-
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक
प्रतिक्रिया