सरकारलाई नै ठग्दै चितवन मेडिकल कलेज
स–शुल्क उपचारलाई निशुल्क भन्दै फर्जी बिल पेश, बाटो मै मृत्यु हुनेको नाममा समेत असुली

काठमाडौं । कपिलवस्तुकी विन्दु शर्मा कोरोना भाइरसको संक्रमणमा परेर सिकिस्त भइन् । घरमा आराम गरिरहेकी उनको स्वास्थ्यमा थप जटिलता आएपछि थप उपचारका लागि चितवन मेडिकल कलेज गइन् । शर्मा उपचारपछि घर फर्किएकी छिन् ।
तर उपचारका नाममा उनले चितवन मेडिकल कलेजलाई करिब सात लाख रूपैयाँ बुझाउनु प-यो । रोगले थलिएर अस्पताल पुगेकी शर्मा उपचारपछि घर फर्किदा ऋणले थलिनु प-यो ।
त्यस्तै भरतपुर महानगरपालिका वडा नं २ बस्दै आएकी तारा गुरुङ पनि संक्रमणबाट अछुतो रहिनन् । अवस्था जटिल बनेपछि उपचारका लागि चितवन मेडिकल कलेज नै पुगिन् । त्यहाँ उनको उपचारका नाममा चार लाख रूपैयाँको बिल उठ्यो । ऋण खोजेर अस्पतालको बिल तिरेर गुरुङ घर फर्किएकी छिन् ।
यसैगरी नवलपरासी (पश्चिम) प्रतापपुर बस्दै आएकी फुलमाया गुरूङले पनि कोभिडकै उपचार गराउँदा चितवन मेडिकल अस्पतालमा ५८ हजार रूपैयाँ खर्च गर्नुप-यो ।
उल्लेखित तीनै जनासँग आफूले अस्पताललाई बुझाएको रकमको प्रमाण अहिले पनि सुरक्षित छ । तर, चितवन मेडिकल कलेजले भने उनीहरूलाई निशुल्क उपचार गरेको भन्दै ती बिरामीको नाममा फर्जी बिल पेश गरेको छ ।
रोगबाट निको बनाएको विरामीलाई ऋणमा थलाएको अस्पताल प्रशासनले ती विरामीहरुलाई अस्पतालले निशुल्क उपचार गरेको भन्दै उनीहरुको उपचार वापत भएको खर्च माग गर्दै सरकारसँग फर्जी बिल पेश गरेको हो ।
अस्पतालले सरकारसँग भुत्तानी दावी गरेको अधिकाशं बिल फर्जी भएको प्रमाण नेपालवाचले प्राप्त गरेको हो ।
तीन दिनको उपचारलार्ई सात दिन र जनरल वार्डका विरामीलाई आइसियूको बिल ?
सरकारसँग फर्जी बिल बोकेर उभिएको चितवन मेडिकल कलेजले बिल मात्र फर्जी गरेको छैन । नक्कली बिरामी खडा गरेर समेत सरकारसँग शोधभर्ना माग गरेको भेटिएको छ । यस्तै अन्य विरामीका नाममा जारी भएको बिलमा पनि शोधभर्ना माग गरेको छ ।
चितवन मेडिकल कलेजका एक कर्मचारीले नेपालवाचसँग कुरा गर्दै अस्पतालले बनाएको फर्जी बिलमा अन्य विरामीको पनि बिल भएको बताए ।
अस्पतालले सशुल्क उपचार गरेको विरामी भर्ना भएको दिन समेत बढाएर बिल बनाएर सरकारसँग माग दावी गरेको पाइएको छ । ती कर्मचारीले भने, ‘अस्पतालले दोहोर भुत्तानी मात्र दावी गरेको छैन की भर्ना भएको दिन नै बढाएर अस्वभाविक रकम दावी गरेको छ ।’
अस्पतालले तीन दिन उपचार गराउनेलाई सात दिन र जनरल वार्डमा मात्रै उपचार गराएका विरामीलाई आइसियूमा राखेको भन्दै शोधभर्ना दाबी गरेको भेटिएको हो ।
अस्पताल प्रशासनले एचडियूमा बसेर आठ दिनसम्म उपचार गराएका हरि बर्तौलालाई १० दिन, तीन दिन उपचार गराएकी पवित्रा खत्रीलाई सात दिन, चार दिन उपचार गराएकी बन्दना महतोलाई ७ दिन र तीन दिन जनरल वार्डमा उपचार गराएका कर्णमान शाक्यलाई आइसियूमा राखी निःशुल्क उपचार गरेको भन्दै झुटो विवरण पेश गरी शोधभर्ना माग दाबी गरेको छ ।
यतिसम्म कि, उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएका व्यक्तिको नाममा समेत झुटो विवरणका आधारमा रकम माग गरेको भेटिएको छ ।
उपचारको लागि अस्पताल जाँदा जाँदै बाटोमै मृत्यु भएका दिपेन्द्र बास्तोलाको समेत भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको नक्कली विवरण पेश गरेर शोधभर्ना मागेको हो ।
कोरोना महामारीमा सरकारले विभिन्न निजी अस्पतालसँग निशुल्क उपचारका लागि सम्झौता गरेको थियो । चितवन मेडिकल कलेज पनि संक्रमितको निशुल्क उपचार गराउनका लागि सरकारसँग सम्झौता भएको मध्यको एक अस्पताल थियो ।
अस्पतालले उपचार गरेको नाममा सर्वसाधारणको ढाड सेक्ने गरी रकम असुल्ने र त्यही बिल सरकारलाई देखाएर निशुल्क उपचार गरेको भन्दै रकम माग दावी गरेको पाइएको हो ।
प्रतिक्रिया