NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

ठगी गर्ने म्यानपावरमाथि मार्सल टोलीको डण्डा : अलपत्र पार्ने सञ्चालक समातिए

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ ले म्यानपावर सञ्चालक भीम गुरुङलाई ठगीको आरोपमा पक्राउ गरेको छ ।

काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका सञ्चालक भीम गुरुङलाई प्रति व्यक्ति ७ लाख ५० हजार रूपैयाँ असुल गरी भिजिट भिषामा यूनाइटेड अरब इमिरेट्स (यूएई)मा कामदार पठाएको आरोपमा पक्राउ गरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव तथा ‘मार्सल टोली’का सदस्य विष्णु लामिछानेले नेपालवाचसँग भने, ‘गुरुङलाई युएईको ग्लोवल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाटप्रति व्यक्ति ७ लाख ५० हजारका दरले रकम लिएको उजुरीको आधारमा पक्राउ गरिएको हो ।

लामिछाने थप्छन् ‘पहिलो कुरा मेनपावरले श्रम स्वीकृत नलिइ भिजिट भिसामा कामदारलाई युएई पठाउन पाइँदैन । अर्को कुरा ती १२ जना अहिले यूएईमा अलपत्र परेका छन् । उनीहरूसँग धेरै रकम असुलेको देखियो । उनीहरूको भिसा सकिन लागेको, पारिश्रमिक नपाएको र खाना खानसमेत नपाएको भन्ने चन्द्रबहादुर गुरुङलगायतको उजुरीको आधारमा भीम गुरुङलाई पक्राउ गरिएको हो ।’

मार्शल टोलीका बारेमा लामिछाने भन्छन्, ‘यो र्‍यापिड रेस्पोन्स टिम हो । वैदेशिक रोजगारीका क्षेत्रमा आएका समस्यामा हामी तत्काल एक्सन लिन्छाैं । उनले थपे मार्शल टोलीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार वोर्ड र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइवी)का प्रतिनिधि सदस्य छन् ।’

केही दिन पहिले मात्र उक्त म्यानपावर कम्पनीमा पीडितसँग भिडियो खिच्न गएका सञ्चारकर्मीहरुमाथि पनि आक्रमण भएको थियो ।

दोषीलाई कारबाहीको माग

यस विषयमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले विज्ञप्ती नै जारी गरेको छ । ट्रिपल स्टार ईम्पलोईमेन्ट प्रालिले वैदेशिक रोजगारको लागि केही युवालाई भिजिट भिषामा पठाई अलपत्र पारेको विषयलाई लिई पीडितले केही यूटयुबर र अभियन्तालाई साथमा लिई सो कम्पनीमा गएका थिए ।

उक्त म्यानपावर कम्पनीका सञ्चालकसमेतको संलग्नतामा निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको व्यहोरा विज्ञप्तीमा उल्लेख छ । व्यावसायिक रुपमा सरकारले तोकेभन्दा बढी सेवा शुल्क लिने, गैरकानूनी रुपमा भिजिट भिसामा पठाउने लगायतका विषय बाहिर आइरहेको सन्दर्भमा त्यस विषयमा सूचना लिन सम्बन्धित कम्पनीमा जानुलाई अस्वाभाविक मान्न नसकिने सञ्जालले जनाएको छ ।

सञ्जालका महासचिव कृष्णप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो गल्ती नहुदाँ पनि कसैले दवाब दिन खोज्दैछ भने कानून बमोजिम प्रशासनलाई खबर गरी समस्या समाधान गर्न सकिन्छ । कानुनी उपचारको विकल्प हुँदाहुँदै निर्घात कुटपिटमा उत्रनुले कानूनको उपहास त गरेको छ नै वैदेशिक रोजगारका क्रममा पीडित भई आउनेलाई गुनासो नगर्नका लागि तर्साउने कार्य समेत भएको यस सञ्जालको ठहर छ ।’

नेपालको कानूनले कसैले कसैलाई कुटपिट गर्न पूर्णरुपमा निषेध गरेको भन्दै कुटपिट गरेमा मुलुकी फौजदारी अपराध संहिताको २०७४ को दफा १९१ बमोजिम ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको र पीडितलाई क्षतिपूर्ति व्यहोर्नुपर्ने व्यवस्था रहेको सञ्जालले जनाएको छ । यो निन्दनीय घटनाप्रति घोर भत्र्सना गर्दै घटनामा संलग्न दोषीहरू उपर कानूनी कारबाही गर्न र घाइतेहरुको निःशुल्क उपचार गर्न सरकारसँग सञ्जालले माग गरेको छ ।

यसैगरी भिजिट भिषामा उक्त कम्पनीबाट युएईमा पठाइएका र अलपत्र अवस्थामा रहेका भनिएका युवाहरूको सत्यतथ्य बुझी तत्काल उद्धार गर्न पहल गरिनु पर्ने उल्लेख छ । साथै कानूनभन्दा बाहिर गएर श्रम स्वीकृति नलिई पठाउने कम्पनीलाई वैदेशिक रोजगार ऐन बमोजिम कडा कारबाही गर्न पनि सञ्जालले जोडदार माग गरेको छ ।