NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

देशभर वर्षा, कहाँ कति पानी पर्यो ?

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगजर्न–चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाले जारी गरेको पछिल्लो मौसमी विवरणमा काठमाडौंमा ४१ मिलिमिटर वर्षा भएको छ । बदली र वर्षासँगै उपत्यकाका उच्च डाँडामा हल्का हिमपात भएको छ ।

फुल्चोकी, चन्द्रागिरी, शिवपुरी, नगरकोटलगायतका अग्ला डाँडामा हिमपात भएको छ । काठमाडौं उपत्यकामा दिनभर घाम नदेखिएकाले आज निकै जाडो महशुस गरिएको छ । आज काठमाडौँको न्यूनतम ४ दशमलब ९ र अधिकतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ ।

आज सबैभन्दा बढी नेपालगञ्जमा ६४, वीरेन्द्रनगरमा ५२, जुम्लामा ५० मिलिमिटर वर्षा भएको छ । त्यस्तै घोराहीमा ३३, भैरहवामा ३०, पोखरामा २९, ओखलढुंगामा २२ र जनकपुरमा १८ मिलिमिटर वर्षा भएको छ ।

हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको र केही दिनबाट यो प्रणाली हटेर क्रमिक रुपमा मौसममा सुधार आउने महाशाखाले जनाएको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, मधेश, बागमाती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगजर्न–चट्याङ–असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष