काठमाडौंमा घाम लाग्यो, आइतबारदेखि मौसममा क्रमिक सुधार
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहान हल्का वर्षा भए पनि अहिले घाम लागिरहेको छ ।
अपराह्नपछि उपत्यकाको मौसममा सामान्य सुधार आउने जनाइएको छ । प्रतिकूल मौसमकाबीच त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान सञ्चालन भइरहेको विमानस्थलले जनाएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा आइएफआर प्रविधिबाट उडान भइरहेको छ ।
महाशाखाको मौसम बुलेटिन अनुसार आज देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा पनि प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ । भोलि आइतबारदेखि मौसममा क्रमिक रुपमा सुधार आउने महाशाखाले जनाएको छ । आइतबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया