NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

भूमि आयोगको मान्छे हुँ भन्दै सुकुम्बासीबाट रकम उठाउने दुई जना पक्राउ

काठमाडौं । भूमि आयोगको नाममा जग्गा मिलाइदिन्छु भन्दै सुकुम्बासीसँग रकम लिने दुई जना पक्राउ गरेका छन् ।

आफूहरू भूमि आयोगको मान्छे हुँ र जग्गा मिलाइदिन्छु भन्दै सुकुम्बासीबाट रकम उठाएर ठगी गर्ने दुईजनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–८ बानियाटार बस्ने झापा भद्रपुर नगरपालिका–३ घर भएका ३८ वर्षीय होम नारायण चौधरी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ घर भएका ४४ वर्षीय उद्धव भण्डारी रहेका छन् ।

काठमाडौं महानगरपालिका–१६ बसन्तनगरस्थित भेटघाट क्याफेमा २ जना व्यक्तिहरूले सुकुम्बासीहरुलाई जग्गा वितरण गर्छौं, फाराम भर्नुपर्छ भन्दै रकम असुल गरीरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ल्यापटप, प्रिन्टर १ थान, ‘भूमिहिन दलित, भूमिहिन सुकुम्बासीले भर्ने निवेदन फाराम’ लेखिएको फारमहरू, अव्यवस्थित बसोबासीले दिने निवेदनको ढाँचा लेखिएको फारामहरु, विभिन्न व्यक्तिहरूको नाम तथा फोटोसमेत राखिएका रेकर्ड फाइलहरु, स्पिकर १ थान र मोबाइल ३ थान समेत प्रहरीले बरामद गरेको छ ।

अनुसन्धानको क्रममा उनीहरुले आफूलाई भूमि आयोगले खटाएका व्यक्तिहरू भन्दै परिचय गराएर काठमाडौंमा सुकुम्बासीले ४ आना जग्गा प्राप्‍त गर्न जनही ५० हजार रुपैयाँको दरले माग गरी फारम भर्न लगाई ठगी गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।