NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

झापामा यस वर्ष तोरीखेती बढ्ने

काठमाडौं । झापामा तोरीको उत्पादन जिल्लामा यस वर्ष बढ्ने भएको छ । तोरीखेतीको क्षेत्र विस्तार भएका कारण विगतमा भन्दा बढी उत्पादन हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

जिल्लाका १५ पालिकामै तोरीखेती विस्तार भएको केन्द्रले जानकारी दिएको छ । यसमा हल्दिबारी, कचनकवल, मेचीनगर, कनकाई, दमक र गौरादहका किसान तोरीखेतीप्रति बढी आकर्षित भएका छन् ।

हावापानीका दृष्टिले तोरीखेतीका लागि झापालाई उर्वरभूमि मानिन्छ । जिल्लामा चार वर्षअघिसम्म चार हजार हेक्टर क्षेत्रमा मात्र किसानले तोरीखेती गर्दै आएका थिए ।

तर पछिल्लो समय स्वस्थ र शुद्ध खानेतेलका लागि तोरीको प्रयोग बढेसँगै व्यावसायिकरूपमा तोरीखेती फस्टाएको हो । मेचीनगर–१४ का गोपाल तिसिम्नाले दुई वर्षदेखि आफ्नै चार बिघा जमिनमा व्यावसायिकरूपमा तोरीखेती गर्न थालेका छन् ।

त्यसअघि उनी पनि बजारबाट तेल किनेर भान्सामा प्रयोग गर्थे । अहिले आफैँले खेती गर्न थालेपछि शुद्ध तेल खान पाएको र मनग्य आम्दानीसमेत हुन थालेको उनले बताए ।

गत वर्ष तीन बिघामा तोरीखेती गरेका उनले यस वर्ष चार बिघा जमिनमा खेती विस्तार गरेका छन् । यसपालि १० क्विन्टल तोरी उत्पादन हुने उनको अनुमान छ । उनले उत्पादन गरेको तोरीप्रति क्विन्टल रु १२ हजार ५०० का दरले बिक्री हुने गरेको बताए ।

कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा छ हजार हेक्टर क्षेत्रमा तोरीखेती हुँदै आएको बताए । उनले विगत चार वर्षदेखि जिल्लामा तोरीखेतीमा किसानको आकर्षण बढ्न थालेको बताए ।

‘थोरै लगानीमा धेरै आम्दानी हुन्छ’, उनले भने, ‘तोरी छरेपछि फुल्नु अघि एकपटक साग छाट्नुपर्छ, अरु केही नै गर्नुपर्दैन । थोरै लगानी, कम परिश्रम हुँदा किसान तोरीखेतीप्रति आकर्षित हुन थालेका हुन् ।’

उनले बजारको समेत समस्या नभएको बताए । उनका अनुसार जिल्लामा पछिल्लो समय सहकारी संस्थाहरूले समेत तोरीखेती व्यावसायिकरूपमा गर्न थालेका छन् ।

उनीहरुलाई प्रोत्साहन गर्नका लागि कृषि ज्ञान केन्द्र झापाले तोरी ब्लक क्षेत्र नै घोषणा गरेको जनाएको छ।

हल्दिबारी गाउँपालिकामा रहेको सहकारीलाई दुई वर्षसम्म रु २५ लाखको दरले अनुदानसमेत प्रदान गरेको केन्द्रले जनाएको छ ।

आव २०७५/७६ मा चार हजार हेक्टरमा हुँदै आएको तोरीखेती विस्तार भएर आव २०७६/७७ मा पाँच हजार हेक्टर पुगेको थियो । आव २०७७/७८ मा झन् बढेर पाँच हजार ३० हेक्टर र हाल छ हजार हेक्टरमा तोरीखेती भइरहेको कृषि अर्थविज्ञ भट्टराईको भनाइ छ ।

उनले तोरीमा झापालाई आत्मनिर्भर बनाउन सरकारले थप प्रोत्साहनका कार्यक्रम ल्याएर किसानलाई आकर्षित गर्न अझै आवश्यक रहेको बताए।