ग्रीन भेन्चर्सका आयोजना प्रभावितलाई आइपीओ खुला
काठमाडाैं । ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा ३१ करोड २५ लाख मूल्य बराबरका प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुल्ला गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी (तीन अर्ब १२ करोड ५० लाख) को १० प्रतिशतले १०० अंकित दरका ३१ लाख २५ हजार कित्ता साधारण सेयर ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नं १, २ र ३ तथा लिखु गाउँपालिका-९ र रामेछापको लिखु तामाकोशी गाउँपालिका-१, २ तथा उमाकुण्ड गाउँपालिका-७ का आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण सेयरको बिक्री खुला गरेको छ ।
सार्वजनिक आह्वान पत्रानुसार ओखलढुंगा र रामेछापका आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीयले आजदेखि छिटोमा यही फागुन १६ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी चैत १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।
कम्पनीले हाल ओखलढुंगाको खिजिदेम्बाको वडा नं १ र ३ तथा रामेछापको उमाकुण्डको वडा नं ७ मा केन्द्र रहेको कुल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु-४ जलविद्युत’ आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कुल अनूमानित लागत १२ अर्ब आठ करोड रूपैयाँ हुने जनाएको छ ।
स्थानीयले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
साथै लक्ष्मी बैंकको रामेछापको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबिबजार शाखा, मेगा बैंकको मन्थली शाखा, मेगा बैंकको ओखलढुंगाको खिजिदेम्बा शाखा तथा आयोजना स्थलबाट सेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनिको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थानुसार रेटिङ गर्दा केयर रेटिङ कम्पनीलाई ‘केयरनपी-आईआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औषत जोखिममा रहेको बुझिन्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया