NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एमसिसीमा अध्यक्ष प्रचण्डको भूमिकाप्रति नेताहरू असन्तुष्ट

काठमाडौं । पटक–पटक स्थगित हुँदै आएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फागनु ८ मा बस्ने तयारी भएको छ ।

पुस १८ मा काठमाडौंमा भएको ८ औं महाधिवेशनले २३६ जनाको अपुरो केन्द्रीय कमिटी गठन गरेको थियो । महाधिवेशनपछि १९ मा ललितपुर सानेपामा बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई पुनः अध्यक्षमा चयन गरे पनि अन्य पदाधिकारी चयन गर्न सकेको छैन । त्यसयता लगातार बैठक स्थगित हुँदै आएको छ ।

केन्द्रीय कार्यलयका सचिव श्रीराम ढकालले फागुन ८ र ९ मा केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको जानकारी दिए । ‘केन्द्रीय कमिटी बैठक बस्ने तयारी भइरहेको छ । निष्कर्षमा पुगिसकेको छैन’, उनले भने, ‘बैठकको एजेण्डको बारेमा छलफल भइरहेको छ । सायद दिउँसोसम्म तय हुनेछ ।’

पछिल्लो समय एमसिसी र प्रधानन्यायाधीमाथिको महाभियोग प्रकरण पेचिलो बन्दै गएपछि यस विषयमा पार्टीको आधिकारीक धारणा तय गर्न बैठक बस्न लागिएको हो । पदाधिकारी चयन र केन्द्रीय कमिटीलाई पूर्णता दिन आकांक्षीहरू धेरै भएपछि दुई महिना यता बैठक निरन्तर स्थगित हुँदै आएको छ ।

यस्ता छन् केन्द्रीय कमिटी बैठकका सम्भावित एजेण्डा

  • एमसिसीको विषयमा पार्टीको आधिकारीक धारणा तय गर्ने
  • प्रधानन्यायाधीमाथिको महाभियोगको सम्बन्धमा पार्टीको रणनीति तय गर्ने
  • सरकारको तर्फबाट एमसिसी सदनमा टेबुल भएको खण्डमा पार्टीको भूमिकाबारे छलफल गर्ने
  • पदाधिकारी चयन गर्ने
  • स्थानीय चुनावको तयारी सम्बन्धमा आवश्यक निर्णय लिने
  • पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे समिक्षा गरी निष्कर्ष निकाल्ने
  • एमसिसीको सम्बन्धमा प्रचण्डको भूमिकाप्रति नेताहरू असन्तुष्ट

त्यस्तै केन्द्रीय कमिटी बैठकबारे आफुलाई कुनै जानकारी नआएको नेता लेखनाथ न्यौपानेले जानकारी दिए । आगामी बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेस(एमसिसी)लाई अध्यक्ष प्रचण्डले पठाएको पत्र र एमसिसी संसदबाट पारित गर्नेसम्बन्धमा कुरा उठाउने तयारी भएको जानकारी दिए ।

‘एमसिसी नेपालको राष्ट्रियतामाथि खतराको घण्टी हो । यसले नेपालको हित गर्दैन । यसलाई फिर्ता गर्नुपर्छ’, उनले उनले भने, ‘एमसिसीका सम्बन्धमा अध्यक्षले पठाएको पत्रबारे पनि कुरा उठाउँछौं ।’

केन्द्रीय कमिटी बैठकमा समग्र विषयवस्तुबारे छलफल हुने वातारवरण बन्छ कि बन्दैन त्यो हेर्छौं । गर्नै पर्ने कामको एजेण्डा तय गर्ने छोटो समयको बैठक राखेर सकियो भन्ने माओवादीमा बढी छ ।

विषय वस्तुप्रतिको गम्भिरतालाई हेरी छलफलमा लैजाने र छलफलको निष्कर्षमा धारणा बनाउने अभ्यास भएको छैन । पूर्व निर्धारित धारणालाई औपचातिकता दिने बढी चलन छ । त्यसमा हाम्रो ध्यान बढी जानेछ ।

त्यस्तै उनले अहिलेसम्म केन्द्रीय कमिटी र पदाधीकारीले पूर्णता नपाएको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् ।

‘पार्टीको अवस्था लथालिङ्ग छ । भातृ संगठनहरूले अहिलेसम्म पूर्णता पाएका छैनन् । विभाग गठन हुन सकिरहेको छैन । नेताहरूले जिम्मेवारी पाएका छैन’, उनले भने, ‘लथालिङ्ग संगठन हाम्रो पर्यावाची जस्तै भएको छ । यसरी कसरी नयाँ विचार र संगठन निर्माण हुन्छ ?’

पार्टीभित्र देखिएका विकृतिको अन्त्यका लागि आफुले जति पहल गरेपनि नेतृत्वप्रतिको चाकडी, चाप्लुसी प्रवृत्ति हावी भएकाले पार्टीमा सुधार गर्न नसकिएको उनले स्वीकार गरे ।