NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सरकारका मन्त्रीको दाबी : एमसिसी आइतबार टुंगोमा पुग्छ

काठमाडौं । सत्तारूढ दलबीच अमेरिकी सहयोग एमसिसीमा सहमति जुटाउने प्रयास फेरि धकेलिएको छ । बिहीबार नै निर्णायक वार्ता गर्ने तयारी भए पनि शुक्रबार पनि एमसिसीको विषयमा सत्तारूढ दलमा कुरा मिलेन ।

शुक्रबार २० मिनेटमात्रै बसेको सत्तारूढ गठबन्धनको बैठकमा सहमति नभएपछि आइतबार बिहान १० बजे बस्ने बैठकले यो विषयलाई टुंगो लगाउने दाबी नेताहरूले गरेका छन् ।

सत्ता गठबन्धन बैठकमा सहमति जुटाउन केही समय आवश्यक रहेको भन्दै नेकपा एसका नेता माधवकुमार नेपालले आइतबारसम्म कुरिदिन आग्रह गरेका थिए ।

नेपालको आग्रहमा प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारसम्म कुर्ने समय दिएका हुन् । अन्यथा आज नै संसदमा एमसिसीको विषय टेबल गर्ने तयारी सरकारको थियो ।

सत्ता गठबन्धनलगत्तै प्रधानमन्त्री देउवाले सरकारका गृहमन्त्री बालकृष्ण खाण, संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुसँग संवाद गरेका थिए ।

सोही संवादपछि संचारमाध्यमलाई प्रतिक्रिया दिंदै संचारमन्त्री कार्कीले आइतबारसम्म एमसिसीको विषय टुंगोमा पुग्ने बताएका हुन् ।
प्रधानमन्त्रीसँगको छलफलपछि कार्कीले आइतबार बिहान १० बजे फेरि सत्तारूढ दलको बैठक बस्ने र एमसिसीलाई टुंगोमा पुर्याउने दाबी गरेका हुन् । आइतबारको बैठकले निष्कर्ष नै निकाल्ने दाबी उनको थियो ।

राष्ट्रिय मुद्दा भएको एमसिसीको विषयमा प्रतिपक्षी दलका नेतासँग पनि प्रधानमन्त्रीले परामर्श गरेको जानकारी कार्कीले दिए । संसदको गतिरोध हटाउन पनि प्रतिपक्षी दलका नेतासँगको छलफललाई अस्वभाविक लिन नहुने उनको भनाई थियो ।

‘हामी आइतबारसम्म एउटा निष्कर्षमा पुग्छौं’ कार्कीले भने, ‘संसदमा प्रतिपक्षीको अवरोध कायम छ । यस्तोमा गतिरोध हटाउन अग्रसरता लिनु प्रधानमन्त्रीको जिम्मेवारी पनि हो । यसैले उहाँ संवादमा जुट्नुभएको हो ।’

सत्तारूढ दल माओवादी र नेकपा एस एमसिसीलाई पारित गराउने पक्षमा नखुलेपछि प्रधानमन्त्रीले प्रतिपक्षी एमालेको सहयोग मागिसकेका छन् । यसैले सत्ता गठबन्धनमा खटपट आइसकेको छ ।

तर पार्टी विभाजनपछि संगठनमा कमजोर बनेका माओवादी र नेकपा एसलाई सत्ता गठबन्धन भत्किए झन् चुनौती मोल्नुपर्ने जोखिम पनि उत्तिकै छ । यसैले उनीहरूले दुई दिनमा केही विकल्प प्रधानमन्त्रीलाई दिएर एमसिसीको विषयमा निर्णय लिने तयारी गरेको बुझिएको छ ।