NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

कामनपाले भन्यो– फोहोर उठाउन सकिएन, आफैं व्यवस्थापन गर्नू

काठमाडौं । काठमाडौं उपत्यकाभित्रको फोहोर केही दिन नउठ्ने भएको छ । फोहोर उठाउन अवरोध सिर्जना भएपछि काठमाडौं महानगरपालिकाले कुहिने फोहोर आफैं व्यवस्थापन गर्न र नकुहिने प्रकृतिका फोहोरलाई घरमै राख्न आग्रह गरेको छ ।

पासाङ ल्हामु राजमार्गअन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्डका स्थानीयले सडक कालोपत्रेको माग राख्दै फोहोर बोकेका गाडीमा अवरोध पु¥याएपछि महानगरपालिकाले उपत्यकाबासीलाई यस्तो आग्रह गरेको हो ।

स्थानीयको माग सम्बोधनका लागि नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वय गरेको उल्लेख गर्दै महानगरपालिकाले समस्या समाधान नहुँदासम्म फोहोरमैलाको व्यवस्थित विसर्जन गर्न भनेको छ ।

‘हाललाई उपत्यका बासिहरूले आ–आफ्नो घर, पसल, उद्योग, व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याइ सकेसम्म कुहिने फोहोरलाई आफैं व्यवस्थापन गर्नुहुन अनुरोध गरिन्छ,’ महानगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।

नकुहिने फोहोरलाई सडकमा नफाली आफ्नै घरमा राख्न र फोहोरको गाडी आएपछि पठाइदिन महानगरपालिकाले आग्रह गरेको छ ।

काठमाडौं उपत्यकाको फोहोर डम्पिङ साइटमा व्यवस्थापन हुँदै आए पनि स्थानीयले विभिन्न माग राखेर अवरोध गर्दा प्रभावित हुने गरेको छ । यस पटक स्थानीयले सडक कालोपत्रेको माग राखेर फोहोर बोकेका गाडीमा अवरोध पुर्याएका हुन् ।

पासाङ ल्हामु राजमार्ग स्तरोन्नतिको ठेक्का पारेका ठेकेदारले कबुलअनुसार काम नगर्दा यो सडक खण्ड जीर्ण अवस्थामा छ । सडक स्तरोन्नति कार्यमा उदासीनता देखाएपछि सडक क्षेत्रका स्थानीय केही दिनदेखि आन्दोलित छन् । प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सडक अवरोध गर्दै राजनीतिक दलका नेतालाई प्रवेश निषेध गरेका छन् ।