NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

एमसिसीको विवादपछि नेकपा एसले बोलायो बैठक

काठमाडौं । सत्तारूढ दलका रुपमा एमसिसी संसदमा टेबल गर्न सहमति दिएको नेकपा समाजवादी (नेकपा एस)मा विवाद भएपछि केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ ।

मुख्य गरी झलनाथ खनानसहितक नेताले एमसिसी टेबल गर्न सहमति दिएको भन्दै आपत्ति जनाएपछि पार्टीले थप छलफलका लागि सचिवालय बैठक बोलाएको हो ।

स्थायी कमिटीले नै संसदमा एमसिसीलाई टेबल गर्न दिने तर संसोधन भएमात्र पास गर्न दिने निर्णय गरेको थियो ।

तर एमसिसी संसदमा टेबल भएपछि नेता खनालसहितले आपत्ति जनाएका छन् । नेता खनालको मत एमसिसी संसदमा टेबल गर्नेबारे पार्टीले कुनै निर्णय नगरेको भन्ने छ ।

संसदमा एमसिसी टेबल गर्नेबारे बसेको सत्तारूढ दलको अन्तिम बैठकमा नेता खनाललाई भने सहभागी गराइएको थिएन ।

सत्ता गठबन्धन भत्किन सक्ने भयले एमसिसी टेबल गर्न दिने निचोडमा अध्यक्ष माधव नेपाल पुगेका थिए । तर दोस्रो नेता खनालले आपत्ति जनाएपछि नेकपा एस दबाबमा परेको छ ।

नेता जीनवराम श्रेष्ठका अनुसार सचिवालय बैठक आज एक बजे बस्नेछ ।

विरोध र असन्तुष्टिकाबीच संसदमा टेबल भएको एमसिसीको छलफलसहितको प्रक्रिया १२ फागुनमा बस्ने बैठकपछि अघि बढ्ने बताइएको छ ।

सत्तारूढ दलले एमसिसी टेबल गर्न सहमति दिएदेखि नै प्रधानमन्त्री शेरबहादुर देउवा पास हुनेमा ढुक्क छन् । उनले एमसिसी टेबल भएपछि पास हुने प्रतिक्रिया दिएका छन् ।

सत्तारूढ दलबीच किचलो भए एमालेको साथ लिएर भए पनि एमसिसी पास गराएरै छोड्ने मनस्थितिमा प्रधानमन्त्री देउवा छन् । एमालेसँग पनि सहयोग माग्दै देउवाले आफैं अध्यक्ष केपी ओलीसँग भेट गरिसकेका छन् ।