NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

नवलपुरमा बन्ने भयो प्रदेश सडक

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने प्रदेश सडक निर्माण हुने भएको छ । जिल्लाको विकासका लागि महत्वपूर्ण कडीका रुपमा हेरिएको प्रदेश सडकको १४ किमी खण्ड निर्माणको चरणमा प्रवेश गरेको नवलपुरस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख रविन्द्र तिवारीले बताए ।

नवलपुरको बौदिकाली गाउँपालिकाको डेढगाउँदेखि हुप्सेकोट गाउँपालिकाको झ्यालबाससम्म १४ किमी सडक निर्माण गर्न लागिएको हो । प्रदेश सरकारको महत्वपूर्ण योजनाकारुपमा समेत यस सडक खण्डलाई हेरिएको छ ।

नवलपुरमा निर्माण गर्न लागिएको यो सडक तनहुँको भिमाद–मानपुर–फुला सडकखण्डसँग जोडिनेछ । सोही मार्गबाट खैरेनी हुँदै पोखरासँग जोडिने भएकालेसमेत नवलपुरका लागि यो सडक आयोजनाको विशेष महत्वको रहेको बताइएको छ । यो आयोजना निर्माण भएपछि प्रदेशको राजधानीसँग जोडिने छोटो मार्ग बन्नेछ ।

डेढगाउँ, रुचाङ हुँदै झ्यालबास जोडिने यो सडकको सात मिटरको चौडाइमा कालोपत्र गरिनेछ । नालासहित निर्माण हुने सडकको चौडाइ योभन्दा धेरै हुनेछ ।

निर्माण सुरु भएको ३० महिनाभित्रै १४ किमी सडक निर्माण गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख तिवारीले बताए । ‘निर्माण सुरु भएको मितिले ३० महिनामा सम्पन्न गर्ने लक्ष्य छ’, उनले भने, चैतदेखि निर्माणको काम सुरु गर्ने योजना छ ।’

यो सडक पहाडी क्षेत्रको विकासको आधारसमेत मानिएको छ । पहाडी क्षेत्रका गाउँलाई जिल्लाको सदरमुकामदेखि प्रदेशको राजधानीसँग जोड्ने भएकाले पहाडी क्षेत्रको विकासको आधारका रुपमा हेरिएको हो ।

सडकको पूर्वाधार जीर्ण हुँदा यस क्षेत्रमा सहजरुपमा यातायात सञ्चालनमा सधैँजसो समस्या हुने गरेको छ । प्रदेश सडक निर्माणपश्चात् पहाडी क्षेत्रमा उत्पादन हुने अम्रिसो, अदुवा, सुन्तलालगायत कृषिजन्य उत्पादनले बजार पाउने भएपछि किसानसमेत लाभान्वित हुनेछन् ।

रु ५१ करोडको लागतमा उक्त सडक निर्माण हुन लागेको कार्यालय प्रमुख तिवारीले बताए । सडक पूर्वपश्चिम राजमार्गसँग जोडिने यो सडक झ्यालबासदेखि डण्डा र झ्यालबासदेखि चोरमारासम्म यसअघि नै निर्माण भइसकेको छ ।

उक्त सडक भोलि मङ्गलबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डेढगाउँमा शिलान्यास गर्ने कार्यक्रम रहेको बताइएको छ । बौदिकाली गाउँपालिकाले शिलान्यास कार्यक्रम आयोजना गर्न लागेको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले जानकारी दिए ।