NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते
एमसिसी विवाद

गठबन्धन भत्किए कांग्रेस–एमालेबीच सहकार्य, माओवादी र एकीकृत समाजवादीलाई संकट

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रकरणले सत्ता गठबन्धन विघटनतिर उन्मुख भएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन बोकेर सँगै हिड्न नसक्ने निष्कर्ष निकाल्दै विपक्षी एमालेसँग सहकार्यको हात बढाएपछि गठबन्धन संकटमा परेको हो ।

बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुखसँग मिलेर एमसिसीलाई अल्पमतमा पार्न लागिएको सूचना पाएपछि संसद देउवाले बैठक नै स्थगित गर्न लगाएका थिए । बिहीबार दुई चरणमा एमाले–कांग्रेसबीच शीर्ष नेताहरूको भेटवार्ता सकारात्मक र सहमति नजिक भएको दुवै पक्षले प्रतिक्रिया दिएका छन् ।

छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी स्वीकार गर्ने पक्षमा विपक्षीले राखिएको माग पूरा गर्ने सहमति नजिक पुगेको एमाले उपाध्यक्ष सुवाचन्द्र नेम्वाङले बताएका छन् ।

‘प्रधानमन्त्रीज्यूले हामीसँग एमसिसी संसद्बाट पारित गर्न सहयोगको प्रस्ताव राख्नुभयो । हाम्रोतर्फबाट पनि पुरानै अडान दोहो¥याएका छौं । त्यसमा हामी दुबै पक्ष सकारात्मक र सहमति नजिक छौं । फेरी एक चरण बसेर निष्कर्षमा पुग्छौं’, नेम्वाङले भने ।

प्रधानमन्त्री देउवा र विपक्षी नेताबीच संसद् भवनभित्र भेटवार्ता भएको चाल पाएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवाको योजना असफल बनाउन ओलीसँग सत्ता सहकार्यको प्रस्ताव राखेका थिए ।

प्रचण्डको भनाइ उल्लेख गर्दै सहभागी नेता देव गुरुङले भने, ‘एमसिसीको विपक्षमा एमाले उभ्भिए सत्ता सहकार्य गर्न तयार छौं, राष्ट्रियताको पक्षमा वामपन्थी एकजुट भएर जाऔं । जवाफमा केपी ओलीले सभामुखको राजीनामा, १४ सांसदलाई कारवाही र प्रचण्डले लगाएको १९ बुँदे आरोपपत्र फिर्ता भए सहकार्य हुन सक्छ । त्यस विषयमा हामी सहमत हुन सकेनौं ।’

सत्ता पक्षकै दुई नेताको तानातानमा परेका एमाले अध्यक्ष केपी शर्मा ओली आफूअनुकुल गठबन्धन भत्काउने र सत्ता समीकरण बदल्ने रणनीतिमा रहेका छन् । प्रतिपक्षमा पुगेपछि एमसिसीको विषयमा तटस्थ बस्दै आएका ओली आगामी भूमिका कस्तो रहन्छ, त्यो हेर्न बाँकी छ । तर गठबन्धन बनेदेखि नै टुटाउने रणनीतिमा लागेका उनी एमसिसीका कारण सफल हुने देखिएका छन् ।

आउन सक्छ प्रचण्ड–माधवमाथि संकट

सत्ता पक्षकै दुई नेताको तानातानमा परेका ओली आफूअनुकुल गठबन्धन भत्काउने र सत्ता समीकरण बदल्ने रणनीतिमा रहेका छन् । प्रतिपक्षमा पुगेपछि एमसिसीको विषयमा तटस्थ बस्दै आएका ओली आगामी भूमिका कस्तो रहन्छ, त्यो हेर्न बाँकी छ । तर गठबन्धन बनेदेखि नै टुटाउने रणनीतिमा लागेका उनी एमसिसीका कारण सफल हुने देखिएका छन् ।

सत्तामा रहेर प्रधानमन्त्री देउवालाई गलाउने प्रचण्डको रणनीति यसपटक पनि फेल हुने देखिएको छ । यदि एमसिसीकै कारण गठबन्धन टुटेमा सबैभन्दा अप्ठ्यारो माओवादी केन्द्र र एकीकृत समाजवादीलाई हुने देखिन्छ । दुई ठूला दलबीचको सहकार्यले देउवा सरकार झनै बलियो हुनेछ । माओवादी र एकीकृत समाजवादीले संघदेखि प्रदेशसम्मका सबै सरकारबाट बाहिरिनु पर्नेछ । चुनावको मुखमा प्रचण्ड–माधवका लागि यो सबैभन्दा ठूलो क्षति हो । एकीकृत समाजवादी पार्टीको वैधानिकताको विषयमा सर्वोच्चमा मुद्दा विचाराधिन रहेको छ ।

एमसिसीमा सहयोग गर्ने शर्तमा प्रचण्ड–माधवको माग बमोजिम प्रधानमन्त्रीले प्रधानन्याधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद्मा महाभियोग दर्ता भएको कांग्रेस नेताको भनाइ छ । यदि गठबन्धन भत्किएसँगै कारवाही फिर्ता हुने सम्भावना उच्च रहेकाले त्यसको साइड इफेक्ट प्रचण्ड–माधवलाई पर्ने देखिन्छ । चुनावमा एमाले–कांग्रेसको सहकार्य भए माओवादी र एकीकृत समाजवादीको पार्टीको अस्तित्व नै संकटमा पर्न सक्ने देखिन्छ ।
राजनीतिमा केही कुरा पनि असम्भव नहुने हुँदा चुनावको मुखसम्म वामपन्थी गठबन्धन बन्ने सम्भावना पनि नकार्ने स्थिति छैन । प्रधानमन्त्री देउवाले ओलीलाई भेटेलगत्तै प्रचण्डले ओलीलाई भेटेर सत्ता सहकार्यको प्रस्ताव राखिसकेका छन् । भेटवार्ता सकारात्मक नभएपनि संसद् विघटनपछि दुई फरक ध्रुवमा उभिएका दुई शीर्ष नेताले एक वर्षपछि दिल खोलेर छलफल गरेका थिए ।

एमाले–माओवादी गठबन्धन कति सम्भव ?

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबाट गम्भीर देखिएको माओवादी अहिले आन्तरिक छलफलमा रहेको छ । शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी बैठकमा कांग्रेस–एमालेको सम्भावित समिकरण, संसदमा विचाराधिन एमसिसी प्रस्ताव, र पछिल्लो विकसित घटनाक्रमबारे गम्भीर समिक्षा गरिएको छ । यसै विषयमा माओवादीका नेता मातृका यादवले गठबन्धन टुटिसकेको टिप्पणी गर्दै घोषणा गर्न मात्र बाँकी रहेको प्रतिक्रिया दिएका छन् ।

‘गठबन्धन टुटिसक्यो घोषणा गर्न मात्र बाँकी छ । एमसिसी पास गर्ने सर्तमा माओवादी केन्द्रले कसैसँग पनि सम्झौता गर्दैन’, यादवले भने, ‘राष्ट्रियता विरोधीसँग सँगै बस्न सकिँदैन । राष्ट्रियतालाई दाउमा राखेर वा राष्ट्रिय स्वाभिमानलाई बन्धक राखेर सँगै जान सकिदैन । यसबारे बैठकमा गम्भीर समीक्षा गरी अगाडि बढ्छौं । सरकारबाट बाहिरिनु कुनै ठूलो विषय होइन ।’

यादवले एमसिसीको विपक्षमा एमाले उभिए सत्ता सहकार्य हुन सक्ने जिकिर गरे । ‘एमसिसी र सत्ता सहकार्य सँगै हुँदैन । एमालेले गरेको प्रतिगमन स्वीकार गरी एमसिसीको विपक्षमा मत दिने शर्तमा एमालेसँग फेरी सकहकार्य हुन सक्छ । वामगठबन्धन बनाउन दलहरूबीच साझा अवधारणा हुनुपर्छ । एमसिसीलाई सहमति गर्ने नाममा वामगठबन्धन हुन सक्दैन’, उनले भने ।

कांग्रेसले गठबन्धन बनाउँदा एमसिसीलाई संसदमा टेबुल गरेपछि संसदीय प्रकृया जाँदा पास वा फेल जे भएपनि स्वीकार हुने भने पनि पछिल्लो समय एमालेको उक्साहटमा लागेर गठबन्धन तोडेको आरोप लगाए ।

‘कांग्रेसले गठबन्धन कायमै राखौं । एमसिसीलाई सदनमा टेबुल गरौं । पास वा फेल जे भएपनि मानेर जाउँ भनेको थियो । गठबन्धन बनिसकेपछि देउवाले विदेशीको बुइ चढेर एमालेको उक्साहटमा लाग्नुभयो’, यादवले भने, ‘देउवाजी अहिले हौसिनुभएको छ । यसको परिणाम सबैले पाउँछन् ।’

गठबन्धन भत्किएमा सबैभन्दा राजनीतिक क्षति एकीकृत समाजवादीलाई हुने देखिन्छ । एमालेसँग विद्रोह गरी नयाँ पार्टी गठन भएको भर्खर ६ महिना भएको छ । आफ्नै विद्रोहका कारण प्रधानमन्त्री बनेका देउवाले ओलीसँग सहकार्यको हात बढाएपछि सबैभन्दा निराश माधव नै नेपाल नै देखिएका छन् । उनको पार्टीको वैधानिकताबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । गठबन्धन टुटेमा चुनावमा सबैभन्दा बढी क्षति एकीकृत समाजवादीले ब्योहोर्नुपर्ने हुन्छ । यसै विषयमा एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठले एमाले र कांग्रेसबीच सत्ता सहकार्यमा सहमति नभइसकेकाले अहिले नै प्रतिक्रिया दिन हतार हुने बताउँछन् । परिणाम जस्तोसुकै आएपनि एमसिसी स्वीकार्ने शर्तमा आफू सरकारमा नबस्ने जिकिर गरे ।

‘कांग्रेस र एमालेबीच कुनै सहमति भएको छैन । एमसिसीको विषयमा एमाले मौन छ । ९८ सिट भएको पार्टीले अहिलेसम्म समर्थ वा विरोधमा निर्णय लिन सकेको छैन । सरकारमा बस्ने वा प्रतिपक्षमै रहनेबारे कुनै निष्कर्षमा पुगेको छैन’, उनले भने, ‘पाँच दलीय गठबन्धनमा एमसिसीको सम्बन्धमा मतभेद छ । यसलाई कसरी टुंग्याउने भन्नेमा अहिल्यै निष्कर्ष निकाल्नु हतार हुन्छ । गठबन्धन एमसिसी पास गर्न बनेको होइन । कांग्रेसले नै गठबन्धन भत्काउँछ भने हामी सरकारबाट बाहिरिन्छौं ।’

श्रेष्ठले कांग्रेस र एमालेबीच सहकार्य सम्भव छ भने एमालेसहित वाम गठबन्धन पनि बन्न सक्ने दाबी गरे ।

‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बिहीबार भेट भइसकेको छ । राजनीतिमा असम्भव भन्ने हुदैन । एमालेसँग मात्र होइन राष्ट्रिय हितमा रहेका सबै वामपन्थीहरूको मोर्चाबन्दी हुने सम्भावना छ । नेकपा विभाजन भएर अहिले तीन पार्टी बनेपनि पुनः एक नहोला भन्न सकिँदैन । महाकाली सन्धिको विषयमा हिजो पनि पार्टी विभाजन भएको हो । पछी फेरी एकजुट भयो । एमसिसीको विरोधमा धेरै वामपन्थी दलहरू छन् । यिनीहरूलाई मोर्चाबन्दी गरेर जान सकिन्छ । कांग्रेस र एमालेबीच मोर्चाबन्दी बन्न पनि सक्छ । तर सत्तापक्ष र प्रतिपक्ष मिलेर जाने भन्ने विषय त्यति सजिलो छैन’, उनले भने ।

श्रेष्ठले एमसिसीलाई हतियार बनाएर गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको जिकिर गरे । उनले अहिले नै गठबन्धन टुटिसक्यो भन्ने अवस्था नभएको बताउँछन् ।

‘गठबन्धन टुटाउन एमाले सफल भयो भन्न मिल्ने अवस्था छैन । परिणाम नआएसम्म सफल भन्न मिल्दैन । हामी सबैको लक्ष्य समाजवाद भएकाले वामपन्थी शक्तिहरू एकजुट हुनुपर्छ । एमसिसीको छाता ओढेर समाजवादको लक्ष्यतिर पुग्न सकिँदैन । एमसिसीको छाताभित्र बसेर अमेरिकी स्वार्थविपरीत जान मिल्दैन । उसको स्वार्थविपरीत नजानु भनेको समाजवादमा नजाने हो । अहिलेको आवश्यकता भनेको राष्ट्रिय हितमा उभिने हो’, उनको भनाइ छ ।

ताजा अपडेट

नेपालवाच विशेष