NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

यी हुन् एमसिसीको पक्षमा उभिएका माओवादी, एकीकृत समाजवादी र जसपाका मन्त्री

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का कारण सत्ता गठबन्धन नै टुट्ने अवस्था भएपछि माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबाट सरकारमा सहभागी मन्त्रीहरू एमसिसीको बचाउमा लागेका छन् ।

एमसिसीकै कारण आफ्नो खाइपाइ आएको जागिर खुस्किने भएपछि गठबन्धन दलका मन्त्रीहरू एमसिसीको पक्षमा उभिएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको सहयोगमा सत्ताबाट हटाएर आठ महिनाअघि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासहित पाँच दलीय गठबन्धन बनेको थियो । पाँच दलमध्ये राजमोको तर्फबाट कोही पनि मन्त्री भएका छैनन् ।

यथास्थितिमा एमसिसी पास गर्न नसकिने अडानमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीबाट बनेका मन्त्रीहरूले पार्टी निर्णयको अवज्ञा गर्दै सरकारको पक्षमा मत दिने गरी लविङ गर्दै आएका छन् ।

पछिल्लो समय पार्टी निर्णयविपरीत आफ्ना मन्त्रीहरूको एमसिसीको पक्षमा अभिव्यक्ति आउन थालेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तनावमा देखिएका छन् । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफू मन्त्रिपरिषदको सदस्य भएकाले सरकारले एमसिसीको पक्षमा मतदान गर्ने सार्वजनिक अभिव्यक्ति नै दिएकी छिन् । ‘म मन्त्रिपरिषदको एक सदस्य हुँ’, एक टेलिभिजन अन्तर्वातामा झाँक्रीले भनिन्, ‘सरकारमा पनि बस्ने अनि प्रधानमन्त्रीको विरुद्ध कसरी जान सकिन्छ । म त एमसिसीको पक्षमा मत हाल्छु ।’

त्यस्तै पर्यटनमन्त्री प्रेम आलेले एमसिसीकै कारण गठबन्धन भत्किए आफू प्रधानमन्त्रीकै पक्षमा उभिने भन्दै उनले देउवासँग लविङ गरिरहेका बालुृवाटार स्रोतले जनाएको छ । उनी यसअघि ओली सरकारमा वनमन्त्री थिए । कार्यसम्पादन मूल्याङ्कना कमजोर अंक ल्याएको आरोप लगाउँदै बर्खास्त गरिदिएपछि नेता नेपाललाई साथ दिएका थिए । त्यस्तै एकीकृत समाजवादीबाट सरकारको नेतृत्व गरिरहेका स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफ्नो निवासमा आफूपक्षका मन्त्रीहरूको भेला नै गराएर एमसिसीको पक्षमा उभिन लविङ गरिरहेको एकीकृत समाजवादीका एक नेताले बताएका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरूले पनि एमसिसीकै कारण गठबन्धन टुटाउन नहुने पार्टी नेतृत्वलाई सूझाव दिएका छन् । बिहीबार प्रधानमन्त्री देउवाले गठबन्धन बोकेर सँगै जान नसकिने निष्कर्ष निकाल्दै विपक्षी एमालेसँग सत्ता सहकार्यको प्रस्ताव राखेपछि गठबन्धन दल र ती दलबाट मन्त्री बनेकाहरूमा खैलाबैला मच्चिएको हो । शुक्रबार बिहान बसेको माओवादी केन्द्रको पूर्वस्थायी कमिटी बैठकमा अहिलेको अवस्थामा गठबन्धन टुटे पार्टीको भविष्य समाप्त हुने मत राख्दै सरकारमा सहभागी मन्त्रीहरूले एमसिसीको पक्षमा मध्यम बाटो अपनाउन नेतृत्वलाई सुझाएका थिए ।

त्यस्तै जसपामा पनि एमसिसीको पक्ष-विपक्षमा मत विभाजन हुँदा पार्टी नै विभाजको डिलमा पुगेको छ । सो पार्टीबाट सहभागी मन्त्रीहरू एमसिसीको पक्षमा उभिएका छन् ।

यसैगरी सरकारको नेतृत्व दल कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरू सुरुदेखि नै एमसिसीको पक्षमा रहेका छन् । २५ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट प्रधानमन्त्रीसहित १० मन्त्री छन् । त्यसमध्ये रक्षामन्त्री डा. मीनेन्द्र रिजाल र बाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन् । यसैगरी माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका ५ र जसपाका ४ जना मन्त्री छन् ।

को–को छन् मन्त्री ?

माओवादी केन्द्रबाट

अर्थमन्त्री – जनार्दन शर्मा
शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल
ऊर्जा– पम्फा भुसाल
युवा तथा खेलकुद– महेश्वर गहतराज
शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री– बोधमायाकुमारी यादव

एकीकृत समाजवादीबाट

संस्कृति पर्यटन तथा नागरिक उड्डयन– प्रेम आले
श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ (किसान)
सहरी विकास– रामकुमारी झाँक्री
स्वास्थ्य तथा जनसंख्या– विरोध खतिवडा
स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ

जसपाबाट

भौतिक पूर्वाधार तथा यातायात – रेणु यादव
संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ
वन तथा वातावरण– रामसहाय यादव
कृषि तथा पशुपन्छी विकास– प्रमोद साह ।

ताजा अपडेट

नेपालवाच विशेष