NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

ओली निवासमा भएको कांग्रेस एमाले वार्ता निष्कर्षविहीन

काठमाडौं । एमसिसीमा सहमति जुटाउने प्रयास स्वरुप भएको कांग्रेस र एमालेको नेताहरुको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सहभागी नभएको वार्ता निष्कर्षविहीन भएको हो । अध्यक्ष ओलीको निवास बालकोटमा भएको वार्तामा पहिले एमसिसीमा सत्तारुढ दलको धारणा प्रष्ट पार्न आग्रह गरेको जानकारी एमाले नेता शंकर पोखरेलले दिए ।

‘एमसिसीमा प्रतिपक्षको सहयोग खोज्नुभएको छ । सरकारको राय के हो त्यो प्रष्ट पार्नुस, यो प्रष्ट नभई प्रतिपक्षी बोल्नुको अर्थ छैन । प्रतिपक्षीलाई यसो गर उसो भन्नुभन्दा पहिले सत्ता पक्षको एउटा दृष्टिकोण आउन जरुरी छ’ पोखरेलले भने, ‘साथै जुन दिनमा संसदमा सहभागी हुने वातावरण बन्छ तब हामी एउटा निर्णयमा पुग्र्छौ । सभामुखको भूमिकालाई लिएर संसद अवरुद्ध गर्दै आएको छौं । यो मागलाई जबसम्म सम्बोधन हुँदैन एमालेले संसदमा भाग लिंदैन ।’

छलफलमा कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा सहभागी थिए । एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेलसहितका नेता सहभागी थिए ।

प्रधानमन्त्री देउवाले एमसिसी संसदबाट पास गर्ने विषयमा सत्तारुढ दलसँगै प्रतिपक्षी एमालेसँग पनि समानान्तर रुपमा छलफल चलाइरहेका छन् । तर दुवैतिर सहमति कायम गर्न गर्न सकेका छैनन् ।

पछिल्लो समय भने सत्तारुढ दल माओवादी र नेकपा एस जसरी पनि गठबन्धन जोगाएर एमसिसी पास गर्न राजी भएको समाचार आइरहेका छन् । तर प्रधानमन्त्रीले संसद बैठक अघि नै एमसिसी पास गर्नेबारे लिखित प्रतिवद्धता माओवादी र नेकपा एसबाट खोजेका छन् ।

यस अघि दुई दिन लगातार स्थगित हुँदै आएको संसद बैठकमा आइतबार पनि एमसिसीमा छलफल हुने कार्यसूची छ । तर एमसिसीमा पहिले सहमति नभई बैठक नै नडाक्ने तयारी प्रधानमन्त्रीको छ ।