नयाँ सन्देश दिन खोजेका थियौं तर सकेनौं : सञ्चारमन्त्री कार्की

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित नेपाली कांग्रेसका नेता र एमालेका नेताबीच भएको भेटवार्ता बिनानिष्कर्ष टुंगिएको छ ।
एमालेले संसद्मा जारी राखेको अवरोध हटाउने र संसद्मा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सबैको सहमतिमा पारित गर्नेबारे नेताहरूबीच भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि टोली बालकोटबाट बाहिरिएको हो ।
दुई पक्षबीच वार्ता सहमति हुने अवस्था सिर्जना भए पनि बालकोटमै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुने कार्यक्रम तय भएकामा दुई पक्षका नेताहरूबीचको वार्ता नै निष्कर्षमा नपुगेपछि उनीहरूबीच भेटवार्ता भएन ।
बालकोटस्थित ओली निवासबाट बाहिरिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले छलफलबाट नयाँ सन्देश दिन खोजे पनि नसकेको सञ्चारकर्मीलाई प्रतिक्रिया दिए । ‘आजको छलफलबाट तपाईँहरूलाई नयाँ सन्देश दिन खोजेका थियौँ तर सकेनौँ, यद्यपि हाम्रो छलफल भने जारी रहन्छ,’ उनले भने, ‘गठबन्धन अहिले पनि जारी नै रहेको छ, आशा गरौं संसद् सञ्चालन भएर सहमतिबाटै एमसिसी अगाडि बढ्छ ।”
छलफलपछि एमाले महासचिव शङ्कर पोखरलेलले गठबन्धनको राय अझै स्पष्ट नआउँदा एमालेले आफ्नो निर्णय दिन नसकेको बताए । उनले भने, ‘ छलफलमा पनि हामीले गठबन्धनको एउटै राय लिएर आउनुस् भनेका छौं, उहाँहरूले गठबन्धनकै एउटै राय बनाउन सक्नु भएको छैन, उहाँहरूले गठबन्धनमा पनि छलफल जारी राख्ने, एमालेसँग पनि छलफल जारी राख्ने तर गठबन्धनको राय क्लियर नगर्ने अनि गठबन्धनको राय क्लियर नभएसम्म एमालेले निर्णय कसरी गर्ने ?’
आजको छलफलमा कांग्रेसको तर्फबाट सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा तथा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमालबीच वार्ता भएको थियो । बोलकोटमा शुक्रबार पनि राति अबेरसम्म प्रधानमन्त्री देउवासहित कांग्रेसका नेता र एमालेको तर्फबाट अध्यक्ष ओलीसहित एमालेका नेताबीच छलफल छलफल भएको थियो ।
प्रतिक्रिया