पूरक प्रस्ताव : माओवादी–समाजवादीमा असन्तुष्टि, देउवा पनि छैनन् विश्वस्त
माओवादी नेता साह भन्छन्– जनता झुक्याउने प्रपञ्च

काठमाडौं । व्याख्यात्मक पूरक प्रस्ताव पेश गरेर एमसिसी पास गराउन प्रचण्ड र माधवकुमार नेपाल अग्रसर बनेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र असन्तुष्टि बढेको छ ।गठबन्धन जोगाउन प्रचण्ड–माधवले चलाखी गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवा आश्वस्त हुन सकेका छैन ।
शनिबार प्रचण्ड र माधव नेपालबीच भएको भेटवार्तामा गठबन्धन कायमै राखी व्याख्यात्मक पूरक प्रस्ताव पेश गरेर एमसिसी पारित गर्ने सहमति बनेको थियो । उनीहरूले त्यही सन्देश प्रधानमन्त्री निवास बालुवाटारमा पुर्याएका थिए ।
व्याख्यात्मक विश्लेषणसहित पूरक प्रस्ताव पारित गर्न नेतृत्व तयार बनेपछि दुवै पार्टीभित्र असन्तुष्टि देखिएको छ ।
माओवादी नेता गणेश साह संसदबाट पूरक प्रस्ताव पास गरे पनि त्यसले खासै अर्थ नराख्ने बताउँछन् । उनका अनुसार, यो जनता झुक्याउने प्रपञ्चबाहेक केही होइन ।
‘यो जनतालाई झुक्याउने प्रपञ्चमात्र हो । यसले कुनै अर्थ राख्दैन,’ उनले भने, ‘हाम्रा नेताहरू गठबन्धन टुटाउन पनि मन छैन । एमसिसी ठूलो प्रोजेक्ट भएकाले लोभ पनि पलाएको छ ।’
शीर्ष नेताले सहमति गरे पनि यथास्थितिमा पारित हुन नसक्ने उनले बताए ।
एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने एमसिसी राष्ट्रियतासँग जोडिको संवेदनशील विषय भएकाले संशोधनबेगर पारित गर्न नसकिने बताउँछन् । यसबारे छलफल गर्न आइतबार बिहान पार्टी स्थायी कमिटी बैठक बस्न लागेको उनले जानकारी दिए ।
प्रचण्ड–माधवसँग प्रधानमन्त्री अझै आश्वस्त हुन सकेनन्
प्रचण्ड–माधवको नयाँ प्रस्तावबारे प्रधानमन्त्री देउवा सकारात्मक भएपनि आश्वस्त हुन नसकेको देउवा निकट एक नेताले बताए ।
उनका अनुसार पछिल्लो समय प्रचण्डलाई प्रधानमन्त्रीले विश्वास गर्न सकेका छैनन् । ‘उहाँ पहिला आफैंले एमसिसी पास गराउन ५ महिनाको समय माग्नुभयो । बीचमा पार्टीभित्र दबाब आएपछि एमसिसी संशोधनबिना पास गर्न सकिँदैन भन्दै आउनुभयो,’ उनले भने, ‘केही समयअघि दलको बैठक राखी एमसिसीको विपक्षमा मत हाल्ने निर्णय गर्नुभएको छ । अहिले एमसिसी पास गर्न विकल्प खोज्छौं। गठबन्धन कायमै राखौं भनिरहनुभएको छ । उहाँहरूको दलबाट नै निर्णय नभई कसरी विश्वास गर्न सकिन्छ ?’
देउवाले एमसिसी पास गर्नका गठबन्धन तयार नभए प्रतिपक्षसँग सहमति गर्ने डर देखाएर प्रचण्ड–माधवलाई गलाउने नीति लिएका छन् । दलहरूबीच सहमति भए आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारकोतर्फबाट एमसिसी सम्झौता निर्णायार्थ प्रस्तुत हुनेछ । अमेरिकाले एमसिसी अनुमोदनका लागि दिएको समयसीमा सोमबार सकिदैछ ।
ताजा अपडेट
-
कमला नदीमा दुई लाख माछाका भुरा छोडियो
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
प्रतिक्रिया