NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जुत्ता हान्ने धम्की दिएका लेखनाथलाई प्रश्न–एमसिसी त पास नै भयो, अब के गर्नुहु्न्छ ?

‘प्रचण्डको निर्णयविरुद्ध विरोध कार्यक्रम गर्छौं’

काठमाडौं । एमसिसीबारेको रस्सकस्सीबीच केही साताअघि माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले दिएको एक अन्तर्वार्ता निकै चर्चित भयो । माओवादीभित्रका हार्डलाइनर नेता न्यौपानेको त्यो संवाद चर्चित हुनुको कारण थियो–एमसिसी पक्षधर नेतामाथिको कटाक्ष ।

उनले अलिक उत्तेजक लयमा भनेका थिए– एमसिसी पारित होइन, पेश गरे मात्रै पनि जुत्ताले हान्छौं ।

उनको यस्तो अभिव्यक्तिपछि केही दिन एमसिसीबारे दलबीच गलफती नै चल्यो । गठबन्धन झण्डै–झण्डै टुट्ने अवस्था आयो । सर्वसत्तावादीको आरोप लगाइएका केपी ओलीसमक्ष उनका अध्यक्ष प्रचण्ड सहयोगको याचना लिएर उभिनुपर्ने अवस्था बन्यो ।

अन्ततः व्याख्यात्मक विश्लेषणको नयाँ विषय ल्याएर एमसिसी संसदबाट आइतबार पारित नै गरिएको छ ।  त्यो पनि उनी सम्बद्ध दल माओवादी केन्द्रकै समर्थनमा । भलै माओवादी केन्द्रले व्याख्यात्मक विश्लेषण गरेर पारित गराएको भन्दै प्रतिवाद गरिरहेको छ । तथापि,  माओवादीले राजनीतिक अस्थिरता र बेइमानी देखाएको भन्दै एमसिसीविरोधीले आलोचना गरिरहेका छन् ।

एमसिसी टेबल भएको एक सातापछि आइतबार पारित भइसकेको छ । तर न्यौपाने भने करिब–करिब मौन व्रतमै छन् ।

एमसिसीबारे उत्तेजक अभिव्यक्ति दिएर मौन न्यौपानेसँग प्रतिक्रिया लिन हामीले सम्पर्क गरेका थियौं । तर उनी अलिक सफ्ट भइसकेका रहेछन् । उनले जुत्ताले हान्ने अभिव्यक्ति दिँदाको र अहिलेको समयमा निकै फरक रहेको बताए ।

‘मैले एमसिसीबारे अभिव्यक्ति दिँदा र अहिलेको समय नितान्त फरक छ,’ उनले भने ।

तथापि, उनले एमसिसी सम्झौता व्याख्यात्मक टिप्पणीसहित पास गर्ने पार्टीको निर्णयप्रति तीव्र असहमति जनाए । केन्द्रीय समिति बैठक पटक–पटक स्थगित गरेर राष्ट्रियतासम्बन्धी गम्भीर विषयमा एकल निर्णय गरिएको भन्दै उनले मान्य नहुने बताए ।

‘एकातिर केन्द्रीय समितिको बैठक बसाल्दै नबसाल्ने, अर्कोतिर एमसिसीजस्तो मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर विषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस, एमाले जस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने ?’, नेपालवाचसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘पार्टीको आठौं महाधिवेशनले गरेको निर्णय र नेकपा (माओवादी केन्द्र) मा केन्द्रीय समितिको निर्णय बाहेक अरुले गर्ने निर्णय अधिकारिक हुँदैन् । आइतबार बिहान बसेको भनिएको बैठकको कुनै वैधानिकता छैन ।’

उनले माओवादी राष्ट्रघात गर्ने पार्टी नभएको भन्दै प्रचण्डको निर्णयविरुद्ध थप विरोध कार्यक्रम ल्याउने टिप्पणी गरे ।