NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

कांग्रेसको दाबी : एमसिसीको १२ बुँदे व्याख्यालाई अमेरिकाले पनि स्वीकारेको छ

काठमाडौं । कांग्रेसले अमेरिकी आर्थिक सहयोग सम्झौता एमसिसीबारे नेपाल र अमेरिकाको समान बुझाई भएको दाबी गरेकाे छ । दलहरूको आग्रहमा उठेका केही प्रश्नमा १२ बुँदे व्याख्या गरेपछि एमसिसीमा नेपाल र अमेरिकाको समान बुझाई भएको दाबी कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले गरेका हुन् ।

एमसिसीलाई लिएर नकारात्मक दृष्टिकोण राख्नु अब उचित नभएको भन्दै महतले एमसिसी विशुद्ध आर्थिक र विकास परियोजना भएको प्रष्ट्याए ।

एमसिसी संसदबाट बहुमतले पारित भएको भोलिपल्टै केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै महतले जनमानसमा उठेका आशंकालाई चिर्दै एमसिसी अनुमोदन भएको भन्दै अब कार्यान्वयनको चरणमा प्रवेश गर्ने बताएका हुन् । केही भ्रम भए अझै पनि चिरेर जान कांग्रेस तयार रहेको उनको भनाइ छ ।

‘केही आशंका संसदमा व्यक्त भयो । हाम्रो व्याख्यालाई कागजको खोस्टो हो अमेरिकाले स्वीकार्दैन भन्ने कुरा पनि गरिए तर हामीले गरेको १२ बुँदे व्याख्यात्मक घोषणा र अमेरिकाको बुझाई एउटै हो ।अमेरिकाले पनि हाम्रो व्याख्यालाई स्वीकारेको छ’ महतले भने, ‘१२ बुँदेमार्फत् हाम्रो बुझाई अघि सारेका छौं । उहाँहरूको बुझाई पनि यही हो भन्ने आएको छ । एमसिसी सैन्य र इन्डो प्यासिफिक रणनीतिको अंग होइन आर्थिक सहयोग मात्रै हो । आयोजना अन्तर्गतका जग्गा जमिनको स्वामित्व हाम्रो हुने सम्झौतमा नै उल्लेख छ । नेपालको कानुनभन्दा माथि पनि छैन ।’
तर पनि प्रश्न उठेपछि १२ बुँदे व्याख्यामार्फत कुरा राखेको भन्दै महतले अब सम्झौता निर्धक्क अघि बढ्ने बताए ।

‘केही उठेका विषयमा व्याख्या भइसकेकाे छ । उहाँहरूको बुझाई पनि यही छ । यसैले अब सम्झौता अघि बढ्छ’ महतले भने, ‘विकास र सहयोग सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको छ । अबको सम्पूर्ण ध्यान आयोजनालाई सम्पन्न बनाउनेतिर लाग्नुपर्छ । जुन स्पिरिटमा पास भयो । यसै अनुसार लागू हुन्छ ।’

महतले नेपालको कानुन अनुसार एमसिसी सम्झौता अघि बढ्ने, लेखा परीक्षण हुने, आयोजनामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट ठेक्का लाग्ने भन्दै संशय नपाल्न पनि आग्रह गरे । आगामी दिनमा पनि कांग्रेसले गलत गर्यो की भन्ने भ्रम रहे चिर्न तयार रहेको उनको भनाई छ ।

हामीलाई सडक र बिजुली चाहिएको भन्दै अब पनि विरोध र अवरोधन गर्नुको अर्थ नभएको उनले बताए । अवरोध आए कानुन अनुसार अघि बढ्ने र भ्रम उत्पन्न भए चिर्न तयार रहेको उनको प्रष्टोक्ति छ ।

सत्ता गठबन्धन र एमसिसीको विषय अलग रहेकोसमेत उनले बताए । ‘एमसिसीको सहयोग आफ्नो ठाउँमा छ । एमसिसीको गुणदोषको आधारमा गठबन्धनको हिसाब हुँदैन ।’ उनले भने ।

एमसिसी पास गर्न सहयोग गर्ने सदस्य र पार्टीहरूलाई कांग्रेसको तर्फबाट महतले धन्यवाद दिए ।

ताजा अपडेट

नेपालवाच विशेष