NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

व्याख्यात्मक टिप्पणीको न्वारानकर्ता गगन होइनन् म हुँ : प्रचण्ड

काठमाडौं । सत्तारुढ दलले एमसिसी पास गर्न नमानेपछि कांग्रेस महामन्त्री गगन थापाले ल्याएको मध्यमार्गी प्रस्तावकाे प्रस्तावक आफू भएको दाबी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका छन् ।

५ फागुनमा सत्तारुढ दलको बैठकमा कांग्रेस महामन्त्री थापाले एमसिसी सम्झौताका विषयमा उठेका प्रश्नमा व्याख्या गरेर सहमति गरेर जान सकिने मध्यमार्गी प्रस्ताव ल्याएका थिए । यही प्रस्तावको विकसित रुप विस्तार हुँदै आइतबार १२ बुँदे व्याख्यात्मक घोषणापछि एमसिसी प्रतिनिधिसभाको बैठकबाट अनुमोदन भएको छ ।

तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसिसी पास भएको भोलिपल्ट आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले व्याख्यात्मक घोषणाको न्वारान गर्ने आफू नै भएको दाबी गरेका हुन् ।

तर प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय वार्तामा अग्रसर गराएका गगनले लिंदै आएको जसलाई प्रचण्डले आफ्नो बनाएका हुन् । व्याख्यात्मक घोषणाका १२ बुँदेले नै सत्तारुढ दलबीच सहमति जुटेपछि यसको श्रेय गगनले लिएका थिए । तर प्रचण्डले व्याख्यात्मक घोषणाको सूत्रधार आफू भएको जिकिर गर्न भ्याए ।

‘मैंले नै ल्याएको एमसिसी पारित गर्ने व्याख्यात्मक घोषणाको प्रस्तावपछि एमसिसी अघि बढेको हो ।’ प्रचण्डले दाबी गर्दै भने ।
प्रचण्डले व्याख्यात्मक घोषणाको कानूनी हैसियत हुने जिकिरसमेत गरे ।

१२ बुँदे व्याख्या महाकाली सन्धी गर्दाको जस्तो संकल्प प्रस्ताव जस्तो नभएको दाबी गरे । प्रतिनिधिसभाको बैठकमा एमसिसीमाथि भाग लिंदै एमाले सांसद भीम रावलले महाकाली सन्धीमा गरिएको संकल्प प्रस्तावको जस्तै एमसिसीमा गरिएको १२ बुँदे व्याख्याको महत्व नभएको आरोप लगाएका थिए । तर प्रचण्डले रावलको आरोपको खण्डन गरेका छन् ।

यद्यपी गगन थापा, गोविन्द बन्दी, परराष्ट्रविद् अर्जुननबहादुर थापाले व्याख्यामा सहयोग गरेको बताउन प्रचण्डले भुलेनन् ।

१२ बुँदे व्याख्यात्मक घोषणामा एमसिसी सैन्य र रणनीतिक सहयोग नभई आर्थिक अनुदान भएको, नेपालको कानुनभन्दा माथि नभएको, नेपालले जोखिम देखेमा एकपक्षीय रुपमा सम्झौता भंग गर्नेसहितका विषयलाई प्रष्ट पारिएको छ ।