NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

नीतिगत सहजीकरण गरे सिमेन्टजस्तै धेरै वस्तुमा आत्मनिर्भर बन्न सकिन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीतिगत सहजीकरण गर्दा सिमेन्ट उद्योगले छोटो समयमै अतुलनीय प्रगति गर्न सफल भएको बताएका छन् ।

नेपाल सिमेन्ट उत्पादक संघद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले बीस वर्ष पहिले नेपाल सरकारले सिमेन्ट उद्योगलाई प्रवर्द्धन गर्न बनाएको नीति–नियमले अहिले सिमेन्ट उद्योग आत्मनिर्भर मात्र नभई निर्यात गर्ने अवस्थामा पुगेको बताए ।

उनले सिमेन्ट उद्योगजस्तै अन्य व्यवसायलाई पनि सहजीकरण गर्न सरकारी नीति नियमहरू समयानुकूल परिमार्जित गर्न आवश्यक रहेको बताए ।

‘हामीले हाम्रा नीति–नियमहरु समयानुकूल परिमार्जन र परिस्कृत गर्न आवश्यक छ । बीस वर्ष पहिला नेपाल सरकारले सिमेन्ट व्यवसायीहरूलाई नीतिगत रूपमा गरेको सानो सहयोगले अहिले हाम्रो सिमेन्ट उद्योग आत्मनिर्भर मात्र होइन निर्यात गर्न सक्ने अवस्थामा पुगेका छौं,’ उनले भने ।

उनले नेपाल सरकारका तर्फबाट सिमेन्ट उद्योगलाई प्रवर्द्धन गर्न नीतिगत रूपमा थप सहजीकरण गर्न सके सिमेन्ट निर्यातको सम्भावना धेरै रहेको समेत बताए ।

अहिले आयात प्रतिस्थापन गर्न, ब्यालेन्स अफ पेमेन्टलाई सन्तुलित गर्न पनि तदअनुरूपका नीति–नियम जरुरी रहेको उनले बताए ।

‘त्यस्तै, हामीले कम लागतमा काम गर्ने प्रचलन छ । यसले गुणस्तरमा कम्प्रमाइज हुने गरेको छ । कामको गुणस्तरमा वृद्धि गर्न यसलाई परिवर्तन गर्न जरुरी छ,’ उनले भने ।